

काठमाडौं – प्रहरीले काठमाडौंका विभिन्न यातायात कार्यालयबाट १६ बिचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीहरूको सवारी दर्ता किताब ९बिलबुक० नवीकरण गरिदिने भनि सार्वजनिक सेवा प्रवाहमा बाधा विरोध गर्ने र सेवाग्राहीहरूलाई अनावश्यक दुःख हैरानी दिने उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

स्वयम्भू प्रहरीले सानोभर्याङस्थित यातायात कार्यालयबाट आठजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा रौतहटका बलबहादुर सुनार, रामेछापका विज्ञान राई र रमेश कार्की, काठमाडौंका संजय राजवाहक र विमल तामाङ, कैलालीका सुमनप्रसाद श्रेष्ठ, नुवाकोटका उद्धव खनाल र धादिङकी कल्पना लम्साल रहेका छन् ।
त्यसैगरी, थानकोट प्रहरीले गुर्जुधारास्थित यातायात कार्यालयबाट अन्य आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौंका पासाङ तामाङ र सुदीप मगर, काभ्रेका सुनिल लामा, धादिङका बुद्ध तामाङ र अमन तामाङ, मकवानपुरका सुमेश नेपाली, बझाङका उज्वल सिंह र मोरङका दिलिप राई रहेका छन् ।

प्रहरी टोलीले उनीहरूको साथबाट एक लाख २२ हजार रुपैयाँ नगद र ५३ थान बिलबुक समेत बरामद गरेको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


