Aamsanchar

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानको ड्रोन आक्रमण

Author Image
बुधवार, चैत १८, २०८२

काठमाडौं- कुवेत अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी इरानले ड्रोन आक्रमण गरेको छ । बुधबार गरिएको ड्रोन आक्रमणबाट इन्धन भण्डारण ट्यांकीमा ठूलो आगलागी भएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशनालयका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले विमानस्थलमा इरान र त्यसले समर्थन गरेका सशस्त्र समूहले ड्रोन आक्रमण गरेको बताएका छन् । उनका अनुसार आक्रमणमा इन्धन ट्यांकीमा आगलागी भए पनि मानवीय क्षति भने भएको छैन । कुवेतको सरकारी समाचार संस्था कुवेत न्युज एजेन्सी(कुना)ले पनि घटनामा मानवीय क्षति नभएको जनाएको छ ।

यो आक्रमण फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको क्षेत्रीय तनावकै निरन्तरता हो । त्यसपछि इरानले इजरायल र खाडी क्षेत्रका अमेरिकी सहयोगी देशहरूलाई लक्षित गर्दै मिसाइल र ड्रोन आक्रमण बढाउँदै आएको छ । खाडी क्षेत्रमा बढ्दो सैन्य गतिविधिका कारण सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएको छ ।

घटनापछि विमानस्थल क्षेत्रको सुरक्षा कडा पारिएको छ । आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ ।

हालैका दिनमा कुवेत विमानस्थल र त्यहाँ रहेका इन्धन भण्डारण केन्द्रहरूमा पटक–पटक आक्रमण भइरहेका छन् । अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व चर्किँदै जाँदा इरानले इजरायलसहित खाडीका ती देशहरूलाई पनि लक्षित गर्दै आक्रमण बढाएको छ, जहाँ अमेरिकी सैन्य अड्डाहरू रहेका छन् ।

यसैबीच, बहराइनमा पनि इरानी आक्रमणका कारण एक व्यावसायिक संरचनामा आगलागी भएको छ । साउदी अरेबियाको रक्षा मन्त्रालयले भने आफ्नो क्षेत्रमा प्रवेश गरेका केही ड्रोनहरूलाई अवरोध गरी नष्ट गरिएको जनाएको छ ।

 

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर