

काठमाडौं – सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरीका परिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य सरकारले निःशुल्क गरिदिए जागिर छाड्नेको संख्या कम हुने बताएका छन् ।

स्वयम्भूस्थित सशस्त्र प्रहरीको प्रधान कार्यालय निरीक्षण गर्न बुधबार पुगेका गृहमन्त्री सुधन गुरुङसँग अर्यालले यस्तो बताएका हुन् । सरकारले उपलब्ध गराउने तलब सुविधाले तल्लो तहका सशस्त्र प्रहरीले परिवार पाल्न र बालबच्चाको खर्च चलाउन समेत कठिनाइ हुँदा १६ वर्षमै अवकाश जान सकियो भने विदेश गई केही आर्थिक अवस्था सुधार गर्न सकिन्छ भन्ने आशामा जागिर छाड्नेको संख्या बढ्दै गएको उनले सुनाए । दिनभरि ड्युटी गर्ने सिपाहीले आफ्नो घर परिवार चलाउन समेत आर्थिक अवस्था कमजोर भएपछि उसको मनोवल कमजोर हुने हुँदा यसबारेमा सरकारले आवश्यक पहल गर्नुमा आफू विश्वस्त रहेको उनले बताए ।
महानिरीक्षक अर्यालले १३ वर्षसम्म एउटै पदमा रही काम गरिरहेका सशस्त्र प्रहरी कर्मचारीहरूको मनोबल समेत कमजोर भएको भन्दै सशस्त्र प्रहरी नियमावलीमा भएको व्यवस्थालाई परिवर्तन गर्नु पर्नेमा जोड दिए । उनले नियमावली परिवर्तन गरी तल्लो तहका कर्मचारीहरू अवकाश जाँदा कम्तीमा जुनियर अधिकृतसम्म बन्न सक्यो भने कार्यक्षेत्रमा उच्च मनोबलका साथ परिचालन हुने बताए।

अर्यालले भने, ‘सशस्त्र प्रहरीको कार्यक्षमता अभिवृद्धि गर्न तथा समयानुकूल सुदृढीकरणका लागि २०५८ को विशेष नियमावलीहरूलाई परिमार्जन गरी सक्षम, प्रभावकारी, व्यवसायी बनाउने तथा सीमाको सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् व्यवस्थापन, आन्तरिक सुरक्षा लगायतका विषयमा स्पष्ट कानुनी व्यवस्थाको प्रस्ताव समेत पेश गरिएको छ ।’


