

काठमाडौँ – जेनजी आन्दोलनमा दोषी ठहर भई पक्राउ परेर ६ दिनदेखि त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य क्रमिक रूपमा सुधार भइरहेको छ। अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोस्याराका अनुसार परीक्षणका लागि पठाइएका रिपोर्ट प्रायस् नर्मल आउन थालेका छन्। यसअघि केही दिनसम्म रहेको मुटुको चाल गडबडीको समस्यामा पनि क्रमिक रूपमा सुधार हुँदै गएको छ।

तर युरिन कल्चरको रिपोर्टमा भने पिसाबको संक्रमण देखिएको छ। यसकारण अहिले उनलाई चिकित्सकहरूको निगरानीमा ‘एन्टिबायोटिक्स’ चलाइएको छ। ‘हिजोदेखि प्राय रिपोर्टहरू नर्मल आउन थालेको छ। तर युरिन कल्चरको रिपोर्टमा भने युरिन इन्फेक्सन देखाएको छ’, अस्पतालका सूचना अधिकारी रोस्याराले भने, ‘चिकित्सकहरुले सोही अनुसारको एन्टिबायोटिक चलाइ रहनु भएको छ।’
दुईपटक मिर्गौला प्रत्यारोपण गरिएका बिरामीलाई युरिन इन्फेक्सन हुनु निकै संवेदनशील रूपमा लिने गरिन्छ। त्यसैले अझै केही दिन ओलीलाई आफ्नै निगरानीमा उपचार गरिने योजना चिकित्सकहरूले बनाएका छन्। ‘युरिन कल्चरको रिपोर्टमा युरिनको संक्रमण देखिएको यसैको लागि चिकित्सकहरूको टिमले मेडिसिन चलाइरहनु भएको छ’, उनले भने, ‘मिर्गौला प्रत्यारोपणका बिरामीलाई युरिन संक्रमण हुनु निकै संवेदनशील मानिन्छ। यसैले उहाँ अझै केही दिन यही नै चिकित्सकको निगरानीमा बस्नु हुन्छ होला।’ यस्तै ओलीलाई देखिएको पित्तथैलिको पत्थरीको शल्यक्रियाको लागि भने अब पठाइने ल्याब रिपोर्टमा भर पर्ने उनले बताए।

गत शनिबार बिहानै प्रहरीले नियन्त्रणमा लिएलगत्तै हिरासतमा राख्नु अघि स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो। तर त्यसवेला मुटुको चालमा गडबडी लगायतका समस्या देखा परेपछि चिकित्सकले भर्ना गर्नुपर्ने बताएका थिए। त्यसलगत्तै उनलाई अस्पतालको एनेक्स २ को ५०१ क्याबिनमा भर्ना गरी राखिएको छ। शनिबार बिहानै अस्पतालमा पुगेर उपचार थालिएका ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार नआएको र स्थिर रहेको समयमा अस्पतालले उपचारका लागि विभिन्न विशेषज्ञ चिकित्सकको ‘अन्तरविभागीय’ टोली’ गठन गरेको र उपचार थालेको थियो। दुई पटकसम्म मिर्गौला प्रत्यारोपण गराएका ओलीको मुटुको चालमा गडबडी लगायत स्वास्थ्य समस्या देखिँदै गएपछि हाल अस्पतालले कार्डियोलोजिष्ट, नेफ्रोलोजिष्ट, मेडिसिन, जनरल सर्जरी, प्रयोगशाला विभागबाट विशेषज्ञ रहेको एउटा मेडिकल टोली गठन गरेको थियो।
गत भदौ २३ गतेको जेनजी आन्दोलनमा दोषी ठहर गर्दै ओलीलाई गत शनिबार उनकै निजी निवास भक्तपुरको गुण्डुबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।


