

काठमाडौं – श्रम संस्कृति पार्टीले प्रतिनिधि सभाको उपसभामुखमा उम्मेदवारी दिने भएको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् संसदीय दल नेता हर्क साम्पाङले उपसभामुखमा पार्टीले उम्मेदवारी दिने जानकारी गराएका हुन्।

उनले उम्मेदवारी दिन पाउने हाम्रो अधिकार भएको र मत हाल्नु नहाल्नु त्यो सांसदहरुको अधिकार भएको बताए। साम्पाङले भने,‘लोकतान्त्रिक अभ्यास गर्नेछौँ ! उम्मेद्वारी दिन पाउने हाम्रो अधिकार हो !मत हाल्नु नहाल्नु त्यो साम्सदहरुको अधिकार हो !यसलाई र्याल काड्ने स्याल काड्ने नभन्नु !’
उनले नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई भन्दै व्यङ्यसमेत गरेका छन्। ‘सभामुख निर्विरोध चयन हुनु भएकोमा बधाइ दिइसक्यौं। अब उपसभामुख चयनको निर्वाचन हुँदैछ। हामी महिला उम्मेद्वार खडा गर्दैछौं। हेरौं नयाँले नयाँलाई भोटहाल्छ कि उही पुरानालाई। ७ भोट आउँछ कि १८९रु,’ उनले लेखेका छन्।

आज प्रतिनिधि सभा बैठकमा सभामुख पदमा डिपी अर्याल निर्वाचित भएको घोषणा भएसँगै निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। सभामुख र उपसभामुख पद एकभन्दा बढी दल हुँदा फरक फरक दल र लिंग हुने कानुनी व्यवस्था छ। उपसभामुख पदमा नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी र राप्रपाको पनि उम्मेदवारी दिने तयारी गरेको छ।


