

काठमाडौं – पोखराको फेवाताल किनारको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा भेटिएको छ ।

सर्वोच्च अदालतको आदेशअनुसार पोखरा महानगरपालिकाले सर्वोच्चको आदेशअनुसार मापदण्डभित्र पर्ने जग्गा खाली गर्ने अभियान थालेको छ ।
फेवातालको मापदण्डभित्रै गृहमन्त्री सुधन गुरुङको पनि जग्गा रहेको पाइएको छ । यस विषयमा पोखराका मेयर धनराज आचार्यले मन्त्री गुरुङसँग छलफल गरिसकेका छन् ।

मेयर आचार्यका अनुसार तालको उत्तरी क्षेत्रमा रहेको जंगल छेउमा मन्त्री गुरुङका नाममा जग्गा भेटिएको हो ।
त्यो जग्गा पनि मापदण्डभित्रै पर्ने हुँदा मुआब्जा दिन नमिल्ने आचार्यले बताए ।
उनले भने, “अन्य मन्त्री पनि हुनुहुन्थ्यो, गृहमन्त्रीज्यूको जग्गा रहेको विषयमा कुराकानी भएको हो । तर जग्गा कति भन्ने एकिन भइसकेको छैन ।”
आचार्यले नक्सा हेर्ने सन्दर्भमा जग्गाको विषयमा कुराकानी भएको र मन्त्रीलाई आफूले ‘मुआब्जा नपाउने जग्गा भएको’ स्पष्ट बताइदिएको जानकारी दिए ।
उनले १५ दिनभित्रै सबै कित्ता छुट्ट्याउने तयारी भएकाले त्यसपछि मात्रै कति भन्ने थाहा हुने बताए ।
मन्त्री गुरुङको भनाइ उद्धृत गर्दै मेयर आचार्यले भने–मेरो जग्गा पनि तालमै पर्यो कि क्या हो भनेर सोध्नुभयो । मैले हो भनेँ । उहाँले तालमा परे पनि खाली गर्नू भन्नुभएको छ ।”


