Aamsanchar

साउदीबाट २५६ जना नेपाली फर्किए

Author Image
आइतवार, चैत २२, २०८२

रियाद – मध्यपूर्व क्षेत्रमा पछिल्लो समय देखिएको इरान–अमेरिका तनावका कारण केही समय प्रभावित बनेको हवाई आवागमन पुनः नियमित बन्दै जाँदा साउदी अरेबियाबाट २५६ जना नेपाली श्रमिकहरू नेपाल एयरलाइन्को RA २४२ उडानमार्फत स्वदेश फर्किएका छन् ।

रियादस्थित नेपाली दूतावासका अनुसार उक्त उडान नियमित तालिकाअनुसार सञ्चालन गरिएको र क्षेत्रीय सुरक्षा परिस्थितिका कारण केही समय उडान व्यवस्थापनमा सावधानी अपनाइए पनि अहिले अवस्था क्रमशः सामान्य बन्दै गएको जनाइएको छ ।

साथै स्वदेश फर्किने यात्रुहरूमा बिदा मनाउन जाने श्रमिक, करार अवधि सकिएका कामदार तथा व्यक्तिगत कारणले नेपाल फर्किन चाहने नागरिकहरू रहेका छन् । पछिल्लो समय देखिएको तनावका कारण प्रारम्भिक अन्योल भए पनि अहिले यात्रु आवागमन सहज बन्दै समेत गएको जानकारी दिएका छन ।

नेपाल एयरलाइन्स साउदीका लागि कन्ट्री म्यानेजर अन्जु शर्माले केही दिन क्षेत्रीय तनावका कारण उडान व्यवस्थापनमा चुनौती देखिएको, तर अहिले अवस्था सुधार हुँदै गएको बताइन् । नेपाल एयरलाइन्सले यात्रुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै नियमित उडान सञ्चालन गरिरहेको छ र आगामी दिनमा पनि सेवा अवरुद्ध नहुने गरी तयारी गरिएको बताइन् ।

उनले उडान सहजीकरण गर्न नेपाली दूतावासले गरेको भूमिकाप्रति धन्यवाद समेत व्यक्त गरिन् । नेपाल एयरलाइन्स निगमले यात्रु सुरक्षालाई ध्यानमा राख्दै उडान सेवा निरन्तरता दिइरहेको जनाएको छ । आवश्यक परे थप उडान सञ्चालनका लागि पनि तयारी अवस्थामा रहेको बताइन् । इरान र संयुक्त राज्य अमेरिकाबीचको बढ्दो तनावका कारण मध्यपूर्वको हवाई मार्गमा उच्च सतर्कता अपनाइएको थियो, जसले केही समय उडान तालिकामा प्रभाव पारेको थियो । तर पछिल्लो अवस्थाले सुधारको संकेत समेत देखिएको छ ।

यसैबीच, साउदी अरेबियामा रहेका नेपालीहरूलाई दूतावासले सतर्क रहन, आधिकारिक सूचना मात्र विश्वास गर्न तथा आवश्यक परे तुरुन्त सम्पर्कमा रहन आग्रह गरेको छ । हाल साउदीमा लगभग ४ लाख संख्यामा नेपाली श्रमिक कार्यरत छन् र नियमित उडान सञ्चालनले उनीहरूमा केही राहत महसुस भएको अनुभव गरिएको छ ।

नेपालबाट दमामका लागि पनि २४७ जना यात्रुहरु साउदी अरबतर्फ प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको नियमित उडानमार्फत ती यात्रुहरू काठमाडौँबाट साउदीका विभिन्न गन्तव्यतर्फ उडेका हुन् । उडान तालिका केही समय अनिश्चित बने पनि पछिल्लो समय अवस्था सामान्यतर्फ उन्मुख देखिएपछि आवागमन सहज बन्दै गएको छ ।

साउदी फर्कने यात्रुहरूमा रोजगारीका लागि पुनः फर्किने श्रमिक, नयाँ श्रम स्वीकृति लिएका कामदार तथा बिदा सकेर कार्यस्थल फर्किने नेपालीहरू रहेका छन् । केही समयअघि इरान र संयुक्त राज्य अमेरिका बीचको तनावका कारण मध्यपूर्वको हवाई मार्गमा उच्च सतर्कता अपनाउनुको साथै नेपाल सरकार तथा सम्बन्धित निकायहरूले मध्यपूर्वको अवस्थालाई निरन्तर निगरानी समेत गरिरहेका छन् ।

Views: 23

प्रतिक्रिया (०)