

काठमाडौंः सिरिया र लेबनान बीचको जदेइत याबौस सीमा नाका बन्द भएको छ। जसले दुई छिमेकी देशहरूबीचको व्यापार र यात्रामा असर पारेको छ।

इजरायलले उक्त क्षेत्रमा सम्भावित आक्रमणको चेतावनी दिएपछि सुरक्षा चिन्तालाई उद्धृत गर्दै सिरियाली अधिकारीहरूले एक दिन अघि नै नाका बन्द गर्ने घोषणा गरेका थिए। लेबनानको मसना सीमा बिन्दुको ठीक विपरित रहेको यो नाका दुई देशबीचको एक प्रमुख पारवहन मार्ग हो। इजरायली सेनाले हिजबुल्लाहले यस सडकलाई सैन्य प्रयोजनका लागि प्रयोग गर्ने गरेको आरोप लगाउँदै मसना नाका जाने सडकलाई लक्षित गर्ने योजनाको संकेत दिएको छ। यसैबीच सिरियाली अधिकारीहरूले जदेइत याबौस नाका केवल नागरिक प्रयोगका लागि तोकिएको र यो कुनै सैन्य उद्देश्यका लागि नभएको कुरामा जोड दिएका छन्।
सुरक्षा अवस्था स्थिर नभएसम्म नाका बन्द रहने र सामान्य सञ्चालन चाँडो भन्दा चाँडो शुरु गर्न प्रयासहरू भइरहेको अधिकारीहरूले बताएका छन्।



