Aamsanchar

लेखापढी व्यवसायीहरू हडतालमा

Author Image
सोमवार, चैत २३, २०८२

वीरगन्ज – पर्सा जिल्लाका विभिन्न सरकारी कार्यालयमा सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू सोमबारदेखि आफ्नो सेवा ठप्प पार्दै आन्दोलनमा उत्रिएका छन् । नयाँ सरकार गठन लगत्तै प्रहरीले विभिन्न सरकारी कार्यालयबाट बिचौलियाको आरोपमा धरपकड गर्न थालेको विरोधमा उनीहरू सोमबारदेखि अनिश्चितकालिन हड्तालमा उत्रिएका हुन् ।

पर्सामा पनि गत शुक्रबार प्रहरीले पोखरिया मालपोत कार्यालयबाट बिचौलियाको आरोपमा तीनजनालाई नियन्त्रणमा लिएको थियो । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन पर्साको आह्वानमा जिल्लाका मालपोत, नापी,भूमीसुधार, अदालत र जिल्ला प्रशासन कार्यालयमा बसेर सेवा दिँदै आएका लेखापढी व्यवसायीहरू अनिश्चितकालिन हड्तालमा रहेको एसोसिएसन पर्साका अध्यक्ष सुरेन्द्र प्रसाद यादवले बताए ।

आइतबार बसेको लेखापढी व्यवसायीहरूको बैठकको निर्णय अनुसार नै आफूहरू सरकार र प्रहरी प्रशासनको रवैयाविरुद्ध हड्तालमा उत्रिएको उनीहरूको भनाइ छ। लेखक व्यवसायीहरूलाई बिनाकारण सम्बन्धित कार्यालय परिसरभित्र र बाहिरबाट समेत धरपकड र पक्राउ गरिएको उनले बताए । नेपाल सरकारको नियम अन्तर्गत रही भू–सेवा केन्द्र सञ्चालन अनुमति लिई धरौटी बुझाइ कार्य सञ्चालन गरेकोमा हाल विभिन्न बहाना बनाइ धरपकड गरिनु खेदजनक भएको उनले बताए । विभिन्न जिल्लाका कार्यालयबाट पक्राउ गरिएका लेखापढी व्यवसायीहरूलाई तत्काल रिहा गर्न पनि उनले माग गरे ।

 

अध्यक्ष यादवका अनुसार,पर्सा जिल्लामा भू–सेवा केन्द्र सञ्चालनको इजाजतपत्र लिएका १ सय २१ जना र लेखापढी व्यवसायीको इजाजतपत्र लिएका ४ सय बढी लेखापढी व्यवसायीहरू रहेका छन्।

Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर