

काठमाडौं – सरकारले ‘वर्क फ्रम होम’ अर्थात् घरबाटै काम गर्न आह्वान गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पेट्रोलियम पदार्थमा देखिएको संकटका कारण घरबाटै काम गर्न आह्वान गरेको हो।

सरकारले ‘वर्क फ्रम होम’ र विद्युतीय सवारीसाधानमा जोड दिन आफ्ना नागरिकलाई आह्वान गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताइन्।
सरकारले यसअघि नै सरकारी कार्यालय र शैक्षिक संस्थानमा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको बताउँदै मन्त्री रावलले सवारीसाधनमा पनि जोर बिजोर प्रणाली लागू गर्ने विषयमा छलफल भइरहेको बताइन्।

‘मूल्य समायोजनको बाध्यता छ, सरकारले यो तथ्य लुकाउँदैन। त्यसैले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न व्यवहारिक देखिएको छ। पेट्रोलियम पदार्थ खपत कम गर्नका लागि आइतबार सार्वजनिक बिदा, शैक्षिक सत्र वैशाख १५ बाट सुरू, इन्धन कोटाको कटौती गरिसकिएको अवस्था छ। आवश्यक परे जोर बिजोर प्रणाली पनि सरकारले लागू गर्नेछ। सरकार जनतासँग ुवर्क फ्रम होम र विद्युतीय साधनको प्रयोग बढाउन आह्वान गर्दछ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै मन्त्री रावलले भनिन्।
सरकारले ऊर्जा बचतमा ध्यान दिएकाले जनतालाई पनि संयमित भएर एकसाथ उभिन आग्रह गरेको उनको भनाइ छ। सरकारले आजको बैठकबाट पेट्रोलियम पदार्थको आयातमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय पनि गरेको छ।


