Aamsanchar

मोरङको उर्लाबारीमा शून्य खनजोत विधिबाट गरिएको मकै खेतीको सफल परीक्षण

Author Image
मङ्गलवार, चैत २४, २०८२

उर्लाबारी-  मोरङको उर्लाबारी नगरपालिकाको कृषि शाखाले पहिलोपटक सञ्चालन गरेको ‘शून्य खनजोतमा मकै खेती कार्यक्रम’ सफल भएको छ।

नगरपालिकाले नगरका सात स्थानमा कृषक समूह र किसानसँग समन्वय गरी प्रयोगात्मक खेती गरेको थियो। तीमध्ये वडा नं.६ को जनज्योति कृषक समूहले गरेको शून्य खनजोत विधिको मकै खेती सबैभन्दा राम्रो देखिएको छ। अन्य स्थानमा भने चैत दोस्रो सातामा परेको असिना–पानीले क्षति पुर्‍याएको छ।

नगरपालिकाको कृषि विकास शाखाको सहयोगमा सात कट्ठा जग्गामा मकै खेती लगाइएको कृषक समूहका अध्यक्ष पदमप्रसाद रिजालले बताउनुभयो। गत मङ्सिर २८ गते यान्त्रिक प्रविधि ९सिडड्रिल मेसिन० बाट मकैको बीउ र मल एकैपटक रोपिएको कृषि विकास शाखाका प्रमुख अम्बिकाप्रसाद लुइँटेलले जानकारी दिनुभयो।

शाखा प्रमुख लुइँटेलका अनुसार नगरपालिकाले मल, बीउ, विषादी र प्रविधि सहयोग गरेको हो।

उहाँले भन्नुभयो, “किसानलाई सिधै यो विधिमा रोप्नुस् भन्दा सुरुमा डराउनुभयो। उत्पादन नहोला, मेहनत र लगानी खेर जाला भन्ने चिन्ता थियो। त्यसैले नगरपालिकाको लगानीमा सात कट्ठा जग्गामा प्रयोगात्मक खेती गरिएको हो।”

कृषक समूहका अध्यक्ष तथा जग्गाधनी पदमप्रसाद रिजालले भन्नुभयो, “शून्य खनजोतमा पनि मकै खेती गर्न सकिन्छ भनेर सुनेका थियौँ। तर नगरपालिकाको सहयोगमा हामीले आफैं खेती गर्‍यौँ। हालसम्म दुई पटक फेदमा मल हालेर सिँचाइ गरेका छौँ। प्रत्येक बोटमा दुई–तीन वटा घोगा लागेको छ।”

उहाँले खनजोत गरेर लगाइएको बालीभन्दा यो विधिबाट अझ राम्रो उत्पादन हुने देखिएको बताउनुभयो। अब पाक्न मात्र बाँकी रहेको र घोगामा दाना लागिसकेको उहाँको भनाइ छ।

“मकै खेती गर्न घण्टाको २ हजार ४ सय रुपियाँ तिरेर खेत जोत्नुपर्ने रहेनछ भन्ने प्रमाणित भएको छ,” रिजालले भन्नुभयो।

कृषि शाखा प्रमुख लुइँटेलका अनुसार नगरपालिकाले नगरका सात स्थानमा प्रयोगात्मक खेतीका लागि एक लाख रुपियाँ विनियोजन गरेको थियो। सोही बजेटबाट वडा नं.१, २, ४, ६, ८ र ९ मा गरी २५ कट्ठा क्षेत्रफलमा प्रयोगात्मक खेती गरिएको हो।

जसमध्ये वडा नं। ६ र १ मा राम्रो उत्पादन देखिएको छ भने अन्य स्थानमा असिना–पानीले बाली बिगारेको छ।

लुइँटेलले भन्नुभयो, “सिडड्रिल मेसिनबाट बीउ र मल एकैपटक हाल्ने यो विधिबाट मकै खेती गर्दा लागत कम हुन्छ र किसानको खर्च बचत हुन्छ। त्यसैले फाइदा बढी हुन्छ। यद्यपि यस वर्ष पाँच स्थानमा असिना–पानीले ठूलो क्षति पुर्‍यायो। तर शून्य खनजोत विधिबाट खेती गर्दा किसानलाई फाइदा हुनेमा उनीहरू विश्वस्त हुनुभएको छ।”

Views: 16

प्रतिक्रिया (०)

सम्बन्धित खबर