झापा- अर्जुनधारा नगरपालिकामा इन्डो–नेपाल अण्डर–१३ टी–२० क्रिकेट प्रतियोगिता चैत २७ गतेदेखि सुरु हुने भएको छ। नगर खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता १२ दिनसम्म सञ्चालन हुने जनाइएको छ।
प्रतियोगितामा नेपालका विभिन्न जिल्लाबाट आएका टोलीहरूका साथै भारतको कोलकाता र पटना बाट आएका दुई टोलीसहित कुल १० टोलीको सहभागिता रहनेछ। प्रतियोगिता लिग–कम–नकआउट ढाँचामा सञ्चालन गरिनेछ। सहभागी टोलीहरूलाई दुई समूहमा विभाजन गरी प्रत्येक टोलीले समूह चरणमा चार–चार खेल खेल्नेछ। अंक तालिकाका आधारमा शीर्ष दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।
सेमिफाइनलबाट उत्कृष्ट दुई टोलीबीच उपाधिका लागि फाइनल खेल हुनेछ। प्रतियोगिताका विजेताले १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यसका साथै लिग चरणमा ‘प्लेयर अफ द म्याच’ लाई १ हजार, सेमिफाइनलमा २ हजार र फाइनलमा ५ हजार रुपैयाँ प्रदान गरिनेछ भने प्रतियोगिताभर उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिता सञ्चालनका लागि करिब ७ लाख २३ हजार रुपैयाँ खर्च हुने प्रारम्भिक अनुमान गरिएको छ। सह–आयोजक बोस्टन क्रिकेट एकेडेमीका सञ्चालक विनित बाँस्तोलाले यस्ता प्रतियोगिताले बाल खेलाडीहरूलाई प्रतिस्पर्धात्मक अनुभव दिलाउनुका साथै उनीहरूको प्रतिभा पहिचान र विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा नगरप्रमुख बलदेवसिंह गोम्देनले खेलकुद क्षेत्रमार्फत पनि उज्ज्वल भविष्य निर्माण गर्न सकिने सम्भावना बढ्दै गएको उल्लेख गर्दै स्थानीय तहले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताए। त्यस्तै, वडा नम्बर १० का अध्यक्ष खगेन्द्र इङनाम र वडा नम्बर ६ का अध्यक्ष हरिसचन्द्र बाँस्तोलाले प्रतियोगिता सफल बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए।
नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव खगेन्द्र लिङ्देनले गरेका थिए भने सदस्य तिलक योञ्जनले स्वागत मन्तव्य व्यक्त गरेका थिए।



