

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले बुधबार नेपालस्थित विभिन्न मुलुकका राजदूतहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेनले पहिलोपटक विभिन्न मुलुकका राजदूतहरूसँग सामूहिक छलफल गर्न लागेका हुन्।

कूटनीतिक क्षेत्रमा प्रधानमन्त्रीले कस्तो परराष्ट्र नीति अवलम्बन गर्छन् भन्ने चर्चा चलिरहेका बेला बालेनले राजदूतहरूलाई छलफलमा बोलाएका हुन्। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्रीसँगको छलफलका लागि नेपालस्थित सबै मुलुकका राजदूतहरूलाई पत्राचार गरिसकिएको छ। प्रधानमन्त्री बालेन र राजदूतहरूको भेटमा परराष्ट्रमन्त्री शिशिर खनालसमेत उपस्थित रहनेछन्।
राजदूतहरूसँगको भेटमा प्रधानमन्त्री बालेनले द्विपक्षीय सम्बन्धहरूलाई कसरी क्रियाशील बनाउने विषयमा छलफल हुने बताइएको छ। फागुन २१ को निर्वाचनमा रास्वपा एक्लैले १८२ सिट जितेको थियो। रास्वपा एक्लैले झन्डै दुई तिहाइ सिट जितेपछि चैत १३ गते बालेन प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले सोही दिन १५ सदस्यीय मन्त्रिपरिषद् पनि गठन गरेका थिए।



