Aamsanchar

विमान दुर्घटना भए के हुन्छ ? विराटनगरमा व्यापक उद्धार अभ्यास

Author Image
बुधवार, चैत २५, २०८२

विराटनगर –  विराटनगर विमानस्थलमा बुधबार (चैत २५) बिहान विमान दुर्घटनाको काल्पनिक उद्धार अभ्यास (डेमो)गरिएको छ ।

अभ्यासअनुसार काठमाडौंबाट विराटनगरका लागि उडेको एक्सरसाइज एयरको फ्लाइट नम्बर ईए–००६(कल साइन 9N–zzz) अवतरणका क्रममा समस्यामा पर्छ । बिहान ७ः२० बजे उडेको विमान रनवेमा असामान्य सम्पर्क भएपछि ‘मिस्ड अप्रोच’ गरिएको र प्राविधिक जाँचका क्रममा देब्रेतर्फको ल्यान्डिङ गियरमा समस्या देखिएको परिकल्पना गरिएको थियो ।

पछि पुनः अवतरण प्रयास गर्ने क्रममा बिहान ८:०५ बजे विमान आकस्मिक अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको दृश्य तयार पारिएको थियो । विमानमा ५५ जना सवार रहेको देखाइएको थियो ।

अभ्यासका क्रममा उद्धार टोली, एम्बुलेन्स र दमकल तत्काल परिचालन गरिएको थियो । साइरन बजाउँदै उद्धारकर्मी रनवेतर्फ दौडिएका थिए भने घाइतेको उद्धार र अस्पताल पठाउने प्रक्रिया प्रदर्शन गरिएको थियो ।

सूचना अधिकारी प्रकाश भण्डारीका अनुसार, अभ्यासमा पाँचजनाको मृत्यु, ६ जना गम्भीर घाइते र ३९ जना सामान्य घाइते भएको परिदृश्य तयार पारिएको थियो । घाइतेलाई उपचारका लागि अस्पताल लगिएको र मृतकको शव पोस्टमार्टमका लागि कोसी अस्पताल पठाइएको नाटकीय प्रस्तुति गरिएको थियो ।

यो घटना वास्तविक नभई नागरिक उड्डयन प्राधिकरणद्वारा गरिएको ‘फूल स्केल एक्सरसाइज’ अर्थात् पूर्णकालीन अभ्यास हो । यस्तो अभ्यास जहाज दुर्घटनाको अवस्थामा उद्धार कार्यलाई प्रभावकारी बनाउन, जोखिम न्यूनीकरण गर्न तथा उद्धारकर्मीको क्षमता अभिवृद्धि गर्न गरिन्छ ।

पूर्वसूचनाबिना गरिएको अभ्यासका कारण आसपासका स्थानीय केहीबेर त्रसित भएका थिए ।

विमानस्थल प्रशासनका अनुसार, यस्तो ‘फूल एक्सरसाइज’ प्रत्येक दुई वर्षमा र ‘पार्सियल एक्सरसाइज’ प्रत्येक एक वर्ष ६ महिनामा गर्ने व्यवस्था रहेको छ ।

Views: 48

प्रतिक्रिया (०)

सम्बन्धित खबर