झापाको बिर्तामोड–६ स्थित बुट्टाबारी फेरि एकपटक फुटबलमय हुने भएको छ। स्थानीय युवाहरूको सक्रियतामा सञ्चालन हुँदै आएको ‘चौथो ऐनि बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’ आगामी वैशाख ५ गतेदेखि सुरु हुने घोषणा गरिएको छ।

आयोजक बुट्टाबारी युनाइटेड क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो। प्रतियोगितामा नेपालका सात र भारतको एक टोली गरी कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। सीमापारबाट आउने सिलिगुढीस्थित तरञ्जुबारी फुटबल क्लबको सहभागिताले प्रतियोगितालाई अन्तर्राष्ट्रिय रंग थप्ने अपेक्षा गरिएको छ।

यस संस्करणमा उपाधि जित्ने टोलीले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी हात पार्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाउनेछ। हरेक खेलका उत्कृष्ट खेलाडीलाई ‘म्यान अफ द म्याच’ वापत २ हजार २ सय रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई आकर्षक नगद पुरस्कारसहित सम्मान गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताको उद्घाटन खेलमै घरेलु टोली बुट्टाबारी युनाइटेडले भारतको तरञ्जुबारी फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ। त्यसपछिका दिनहरूमा अन्य टोलीहरूबीच क्रमशः प्रतिस्पर्धा हुँदै वैशाख १२ गते फाइनल खेल सम्पन्न हुनेछ।

कार्यक्रमकै अवसरमा प्रतियोगिताको ट्रफी पनि सार्वजनिक गरिएको थियो। वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वा र झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले मामाले संयुक्त रूपमा ट्रफी अनावरण गरेका थिए।
करिब २१ लाख ६३ हजार रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको यस प्रतियोगिताले स्थानीय खेलकुद विकासमा टेवा पु¥याउने आयोजकको विश्वास छ। क्लबका अध्यक्ष प्रविण राईका अनुसार प्रतियोगिता केवल प्रतिस्पर्धा मात्र नभई युवाहरूको क्षमता विकास, नेतृत्व अभिवृद्धि र सकारात्मक सामाजिक सहभागिताको माध्यम पनि हो।
२०७५ सालमा स्थापना भएको बुट्टाबारी युनाइटेड क्लबले “युवा जागरूकता आजको आवश्यकता” भन्ने नारासहित विभिन्न सामाजिक तथा खेलकुद गतिविधि सञ्चालन गर्दै आएको छ। यसपटकको गोल्ड कप पनि त्यही अभियानको निरन्तरता मानिएको छ।


