

बुटवल- बिक्रीका लागि ल्याइएको तरकारीमा अत्यधिक विषादी भेटिएपछि बुटवलमा ठूलो परिमाणमा बोडी नष्ट गरिएको छ ।

चितवनबाट ल्याइएको बोडीमा गरिएको परीक्षणमा अर्गानो–फस्फेट समूहअन्तर्गतको विषादीको ‘इनहिबिसन’ स्तर ९७ प्रतिशतभन्दा बढी देखिएपछि तत्काल नष्ट गरिएको हो ।
बुटवल–६ स्थित कृषि उपज थोक बजार केन्द्रमा ल्याइएको करिब डेढ सय केजी बोडीमध्ये १२० केजी स्थानीय तहसँग समन्वय गरी डम्पिङ साइटमा नष्ट गरिएको जनाइएको छ । बाँकी ३० केजी भने बिक्री भइसकेको पाइएपछि सम्बन्धित उपभोक्तालाई सचेत गराउँदै त्यसलाई समेत प्रयोग नगर्न र नष्ट गर्न आग्रह गरिएको छ ।

विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइका प्राविधिकहरूका अनुसार, नियमित अनुगमनका क्रममा उक्त तरकारीमा असामान्य रूपमा उच्च विषादी भेटिएको हो । ‘इनहिबिसन प्रतिशत’ले मानव शरीरमा आवश्यक इन्जाइमको क्रियाशीलतामा कति अवरोध उत्पन्न हुन्छ भन्ने देखाउने भएकाले यस्तो उच्च स्तर स्वास्थ्यका लागि गम्भीर जोखिम हुने बताइएको छ ।
विशेषगरी बेमौसममा उत्पादन गरिएका तरकारीमा यस्तो समस्या बढी देखिने प्राविधिकहरूको भनाइ छ । किसानहरूले विषादी प्रयोगपछि आवश्यक ‘वेटिङ पिरियड’ पूरा नगरी बजारमा पठाउँदा जोखिम बढ्ने गरेको उनीहरूले बताएका छन् ।


