

फुङलिङ- प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा एकै दिन साढे चार हजार भक्तजनले दर्शन गरेका छन् । शनिबार एकै दिन चार हजार ७३६ जनाले पाथीभराको दर्शन गरेका हुन् ।

तीन हजार ७९४ को उचाइमा रहेको पाथीभरा मन्दिरमा पछिल्लो समय भक्तजनको सङ्ख्या बढिरहेको छ । विषेश गरी अहिले पाथीभराको सिजन भएका कारण पनि मन्दिर आउनुहुने भक्तजनको सङ्ख्या बढेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।
रामनवमीको समयमा भक्तजन सङ्ख्या धेरै हुने गरे पनि यो वर्ष वर्षाका कारण प्रभाव परेको थियो । तर, अहिले मौसम सफा भए सँगै पाथीभरामा दर्शनार्थीको सङ्ख्या पनि बढेको कार्यकारी निर्देशक हाङ्बाङको भनाइ छ ।

यस्तै, गत शनिबार चार हजार २०८ जना भक्तजनले पाथीभरा मन्दिरको दर्शन गरेका थिए । पाथीभरामा दर्शनार्थीको चाप बढेसँगै पाथीभरा क्षेत्र विकास समितिले काफ्लेपाटी, फेदी लगायत स्थानहरूमा रहेका होटलहरूमा अग्रिम बुकिङ बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।
दर्शनार्थीहरूका कारण होटल खचाखच भरिन सक्ने सम्भावना रहेकाले अग्रिम बुकिङ नगरेका भक्तजनहरूले बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको हो । पाथीभरा दर्शन गर्न देशका विभिन्न जिल्लाबाट भक्तजनहरू आइरहेका छन् । त्यस्तै नेपालबाहिर भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल लगायतका ठाउँबाट भक्तजन पाथीभरा दर्शनका लागि आउने गरेका समितिले जनाएको छ ।


