

काठमाडौँ – विभिन्न राजनीतिक दलनिकट १५ विद्यार्थी संगठनले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति विरोधमा देशव्यापी आन्दोलन घोषणा गरेका छन्। शुक्रबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेका हुन्। विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने निर्णय नागरिक अधिकार र संविधान लोकतान्त्रिक मूल्य-मान्यताविपरीत भएकाले तत्काल फिर्ता लिनुपर्ने उनीहरूको माग छ।

पहिलो चरणको आन्दोलनअन्तर्गत शनिबार नागरिक अगुवा तथा सरोकारवालासँग अन्तरक्रिया गर्ने तथा २९ चैतदेखि ४ वैशाखसम्म देशभर कलेजस्तरीय छलफल तथा अन्तरक्रिया कार्यक्रम तय भएको छ।
वैशाख ५ मा पूर्वविद्यार्थी नेता तथा सांसदहरूसँग संवाद गर्ने, वैशाख ७-१४ सम्म देशव्यापी प्रचारप्रसार, सांस्कृतिक तथा सिर्जनात्मक कार्यक्रम गर्ने र वैशाख ११ मा विश्वविद्यालय उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ। यस्तै वैशाख १२ मा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने र १५ वैशाखमा काठमाडौँ उपत्यकामा कापी-कलमसहित देशव्यापी प्रदर्शन गर्ने घोषणा गरिएको छ।

सरकारले शासकीय सुधारका लागि भन्दै सार्वजनिक गरेको १०० कार्यसूचीमा विद्यार्थी संगठनमाथि नियन्त्रण वा प्रतिबन्ध लगाउने विषय उल्लेख थियो।


