Aamsanchar

दुई वटा चोरी घटनामा संलग्न भएर फरार रहँदै आएका एक जना प्रतिवादी मोरङबाट पक्राउ

Author Image
शुक्रवार, चैत २७, २०८२

विराटनगर-  फरक–फरक दुई वटा चोरी घटनामा संलग्न भएर अदालतबाट दोषी ठहर भए पनि लामो समयसम्म फरार रहँदै आएका एक जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन् ।

फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाएको प्रहरीले सुनवर्षी नगरपालिका–८ का २४ वर्षीय जाफर आलमलाई नियन्त्रणमा लिएको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुसार आलम दुई वटा छुट्टाछुट्टै चोरी घटनामा संलग्न भए पनि कानुनी प्रक्रियामा एउटै मुद्दाअन्तर्गत कारबाही चलाइएको थियो । दुवै घटनामा अदालतले दोषी ठहर गरेपछि उनी सजायबाट बच्न लुकिछिपी बस्दै आएका थिए ।

प्रहरीको निगरानी सूचीमा लामो समयदेखि रहेका आलमलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले अन्ततः उनकै घर वतनबाट बिहीबार साँझ पक्राउ गरेको लामिछानेले बताए । ‘उनी लामो समयदेखि फरार सूचीमा थिए । लुकिछिपी बसिरहेको अवस्थामा आफ्नै घरबाट पक्राउ गरिएको छ,’ लामिछानेले भने ।

प्रहरीका अनुसार आलमविरुद्धको फैसला २०८१ साल पुस ९ गते जिल्ला अदालत मोरङबाट भएको थियो । अदालतले दुवै चोरी मुद्दामा समान प्रकृतिको सजाय निर्धारण गर्दै प्रत्येकमा १ वर्ष ५ महिना ६ दिनका दरले कैदको फैसला सुनाएको थियो । साथै, दुवै मुद्दामा १५–१५ हजार रुपैयाँका दरले जरिवाना पनि तोकिएको थियो ।

यसरी दुईवटै घटनाको सजाय जोड्दा आलमले अब २ वर्ष १० महिना १२ दिन कैद सजाय भुक्तान गर्नुपर्ने हुन्छ भने जरिवाना बापत ३० हजार रुपैयाँ तिर्नुपर्नेछ । अदालतको फैसला आएपछि फरार भएका उनी करिब एक वर्षदेखि प्रहरीको पहुँच बाहिर रहेका थिए । प्रहरीले पछिल्लो समय फरार प्रतिवादीहरूको खोजीलाई प्राथमिकतामा राख्दै विशेष निगरानी र सूचनाको जालो विस्तार गरेको थियो । सोही अभियानअन्तर्गत आलमलाई लक्षित निगरानी बढाइएको र अन्ततः पक्राउ गर्न सफल भएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका आलमलाई प्रहरीले पेस गरेपछि जिल्ला अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको छ । मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले फरार प्रतिवादी पक्राउ अभियानलाई प्रभावकारी बनाइएको जानकारी दिए । अदालतबाट दोषी ठहर भइसकेपछि पनि फरार रहने प्रवृत्ति बढ्दो देखिएकाले त्यसलाई नियन्त्रण गर्न प्रहरी सक्रियता बढाइएको उनको भनाइ छ ।

‘अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउनु हाम्रो प्रमुख जिम्मेवारी हो । अपराध गरेर फरार भए पनि अन्ततः कानुनको दायराबाट कोही पनि उम्किन सक्दैन भन्ने सन्देश दिन हामी निरन्तर सक्रिय छौं,’ एसपी कटवालले भने । उनका अनुसार फरार प्रतिवादीलाई पक्राउ गर्ने अभियान कानुनी प्रक्रिया पूरा गर्ने मात्र नभई समाजमा कानुनी शासनको प्रत्याभूति दिलाउने महत्वपूर्ण माध्यम पनि हो ।

‘दोषी ठहर भइसकेका व्यक्तिलाई नियन्त्रणमा लिएर सजाय कार्यान्वयन गर्दा मात्र कानुनप्रतिको विश्वास बलियो हुन्छ,’ उनले भने । मोरङ जिल्लामा पछिल्लो समय फरार प्रतिवादीहरूको संख्या घटाउने लक्ष्यसहित प्रहरीले विशेष अभियान सञ्चालन गरिरहेको छ । प्रहरी सक्रियतासँगै लामो समयदेखि लुकेर बसेका अपराधीहरू क्रमशः पक्राउ पर्न थालेका छन् । यसले अपराध नियन्त्रणका साथै कानुनी शासन मजबुत बनाउन सकारात्मक भूमिका खेल्ने एसपी कटवालको भनाइ छ ।

Views: 18

प्रतिक्रिया (०)

सम्बन्धित खबर