

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको इन्धन खपत घटाउन र मितव्ययिता अपनाउन उपभोक्तालाई अपिल गरेको छ।

निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले सार्वजनिक सन्देश जारी गरी अन्तर्राष्ट्रिय बजारको असहजताप्रति निगम संवेदनशील रहेको भन्दै सम्पूर्ण उपभोक्ता र सरोकारवालालाई इन्धन प्रयोगमा अधिकतम मितव्ययिता अपनाइ सहयोग गरिदिन अनुरोध गरेका छन्।
उनले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको भन्दै निगमको वित्तीय अवस्था ‘धराशायी’ भएको दाबी गरे।

‘मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर वृद्धि भइरहेको छ’, उनले भने, ‘यस परिस्थितिमा स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसक्दा निगमको घाटा अप्रत्याशित रूपमा बढ्न गई वित्तीय अवस्था कमजोर हुन पुगेको छ।’
उनले इन्डियन आयल कर्पोरेसन(आईओसी) लाई बुझाउनुपर्ने बक्यौता रकम तिर्न नसक्ने अवस्था आएको र यसले आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने चेतावनी दिए। कार्यकारी निर्देशक भट्टले विभिन्न स्रोतबाट रकम जुटाएर आईओसीलाई ठूलो रकम भुक्तानी गरेको बताए।
आपूर्ति सहज बनाउन निगम हरदम सक्रिय रहेको भट्टको भनाइ छ। आपूर्ति शृङ्खला नै अवरुद्ध हुन सक्ने उच्च सम्भावना मध्यनजर गर्दै निगमले मूल्य समायोजनको कठिन निर्णय लिनुपरेको उनको भनाइ छ।


