झापा । सीमापार पर्यटनलाई नयाँ गति दिने उद्देश्यसहित “सीमापार पर्यटन सम्मेलन झापा–२०२६” को तेस्रो संस्करण सम्पन्न भएको छ। नेपाल पर्यटन बोर्ड र काँकरभिट्टास्थित पर्यटन कार्यालयको संयुक्त आयोजनामा भएको सम्मेलनले नेपाल–भारतबीच सहकार्य, नीतिगत सुधार र पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेको थियो।

कार्यक्रममा वक्ताहरूले पर्यटन क्षेत्र विस्तारका लागि पूर्वाधार विकास, व्यवहारिक सुधार र संयुक्त बजार प्रवद्र्धन अपरिहार्य रहेको धारणा राखे। प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ ले सीमापार पर्यटनले प्रदेशको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै झापालाई पर्यटन केन्द्रका रूपमा स्थापित गर्न सेवा सुधार, आकर्षक प्याकेज र नीतिगत सुधार आवश्यक रहेको बताए।
पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्र्माले सम्मेलनको निरन्तरताले पर्यटनको विकेन्द्रीकरणमा टेवा पुगेको जनाउँदै राष्ट्रिय योजना आयोगको योजनामा सीमापार पर्यटनलाई समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

सीमा व्यवस्थापन सन्दर्भमा काँकरभिट्टा अध्यागमन कार्यालय प्रमुख तुलसी भट्टराईले आवागमन सहज बनाउन अध्यागमन कार्यालय सदैव तयार रहेको स्पष्ट पारे। त्यस्तै, आयोजक टुरिजम वोर्डका वरिष्ट प्रवन्धक सूर्य थपलियाले भारतीय पर्यटकहरू नेपालको प्रमुख स्रोत बजार भएको उल्लेख गर्दै सहकार्यको आवश्यकता औँल्याए र सीमापार पर्यटनबारे सरोकारवालाहरूले अझै पर्याप्त रूपमा नबुझेको टिप्पणी गरे।
भारतको हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) का महासचिव सम्राट सन्याल ले नेपाल र भारतले संयुक्त रूपमा पर्यटन उत्पादन विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै सीमा आवागमन सहज बनाउने र नीतिगत अवरोध हटाउने दिशामा सहकार्य गर्नुपर्ने बताए।
सम्मेलनमा बिहार, सिक्किम र पश्चिम बंगाल (भारत) तथा कोशी प्रदेश (नेपाल) का पर्यटन सम्भावनाबारे भिडियो प्रस्तुतीकरण गरिएको थियो। साथै “सीमापार पर्यटनः अवसर र चुनौतीहरू” विषयक अन्तरक्रियामा सूर्य थपलिया, सम्राट सन्याल, पर्यटन उद्यमी केसरी गुरुङ र पर्यटन मञ्च झापाका सहसचिव आकाश श्रेष्ठ सहभागी भएका थिए।
छलफलका क्रममा निर्माणाधीन एसियाली राजमार्ग सञ्जाललाई क्षेत्रीय सम्पर्क विस्तारको ‘खेल परिवर्तनकर्ता’ पूर्वाधारका रूपमा व्याख्या गर्दै यसको प्रभावकारी उपयोगले नेपाल–भारतबीच पर्यटक आवागमनमा गुणात्मक वृद्धि ल्याउने विश्वास व्यक्त गरियो।

सम्मेलनको अर्को महत्वपूर्ण उपलब्धि हिमालय हस्पिटालिटी एण्ड टुरिज्म डेभलपमेन्ट नेटवर्क (एचएचटीडीएन) र नेपालको पर्यटन मञ्चबीच पर्यटकीय गन्तव्य प्रवद्र्धन तथा दिगो पर्यटन विकासका लागि द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर र आदानप्रदान गरिएको छ।
पर्यटन व्यवसायीहरुको छाता संस्था ट्राभल मञ्च झापा नेपाल र भारतको हिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएनभारतबीचको एशोसिएट सदस्य सम्बन्धी सम्झौता ‐एमओयू)मा हस्ताक्षर भएको छ । ट्राभल मञ्च झापा नेपालकातर्फबाट अध्यक्ष उदयकुमार श्रेष्ठ र सचिव नवीन खरेल तथाहिमालयन हस्पिटालिटी टुरिजम डेभलपमेन्ट नेटवर्क एचएचटिडीएनकातर्फबाट अध्यक्ष सुवासीस चक्रवर्ती र महासचिव सम्राट सन्याललेहस्ताक्षर गरेका थिए ।कार्यक्रममा भारतका करिब ६० पर्यटन उद्यमीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा को अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशीका उपाध्यक्ष ऋषिराज तिम्सिना, पर्यटन कार्यालय कांकरभिट्टाका अधिकृत निरोज कट्टेल लगायतले द्विदेशीय पर्यटनको सम्भावनाबारे धारणा राखेका थिए। कार्यक्रम सञ्चालन सञ्चका सचिव नविन खरेल ले गरेका थिए।


