

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सीमा क्षेत्रमा तस्करी व्यापक बनेको भन्दै त्यसलाई नियन्त्रण गर्न सरकारले कडाइ गरेको बताएका छन् । सीमा क्षेत्रमा तस्करी रोक्दा केही असन्तुष्टि देखिए पनि त्यो नियन्त्रण गर्नैपर्ने अवस्था रहेको उनले बताएका हुन् ।
आइतबार (वैशाख २०)निजी क्षेत्रसँगको छलफलमा उनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनशैली नै वारिपारि आवतजावत गरेर सस्तो बजारबाट किनमेल गरी जीवन चलाउने रहेको भए पनि खुल्लमखुल्ला भइरहेको तस्करीलाई राज्यले टुलुटुलु हेरेर बस्न नसक्ने स्पष्ट पारे । उपभोक्ताका दृष्टिकोणबाट सीमा क्षेत्र संवेदनशील रहेकाले हाल कडाइमा पुनर्विचार गर्ने तयारी भने भइरहेको उनले बताए ।
“।।।बोर्डर एरियामा मान्छेको जीवनशैलीका रूपमा हामी वारिपारि गएर आफ्नो जीवन चलाउँछौँ, तुलनात्मक रूपमा त्यो सस्तो बजार छ,” उनले भने, “तर, सँगसँगै वारि व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूको व्यवसाय पनि फस्टाउन जरुरी छ, तुलनात्मक रूपमा त्यो उपभोक्ताका लागि महँगो पर्न जाने अवस्था हुन्छ । यो दुईवटै कुरालाई मध्यनजर गरेरै सरकारले नीतिहरू बनाउनुपर्ने हुन्छ ।”




