Aamsanchar

पूर्वमन्त्री घिमिरेको खोजी गर्न बंगलादेशबाट भए पनि गोताखोर झिकाउनु

Author Image
सोमवार, असोज १०, २०७३

चितवन ।

Madhav-ghimire

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले दुर्घटनामा बेपत्ता भएका पूर्व गृहमन्त्री माधवप्रसाद घिमिरेसहित तीनजनाको खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

दुर्घटनास्थल दारेचोक गाविस–३ घोप्टेभिरमा आज प्रमुख जिल्ला अधिकारीलगायत सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिँदै उनले के कस्तो जनशक्ति र उपकरण आवश्यक पर्छ त्यसमा कत्ति पनि कन्जुस्यार्इं नगरी खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिए ।

त्यस क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी घटनास्थलको अवस्था र खोजी कार्यको बारेमा जानकारी गराएका थिए ।

सो क्रममा प्रधानमन्त्री दाहालले मन्त्री लेखकसँग बङ्गलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै त्यसलाई झिकाउन कूटनीतिक पहल गर्ने बताए ।

अन्य स्रोतसाधनका विषयमा पनि उच्च सुरक्षा निकायसँग तत्काल छलफल गर्ने प्रधानमन्त्रीले बताएको लेखकले जानकारी दिए । प्रधानमन्त्री दाहालले भैसालोटन ब्यारेज बन्द गरेर त्यो क्षेत्रसम्म खोजी कार्यलाई तीव्रता दिन स्थानीय सुरक्षा निकायलाई निर्देशन दिए ।

मन्त्री लेखकले स्थानीयस्तरमा खोजी कार्यका कुनै विशेषज्ञ छन् भने खोज्न आग्रहसमेत गरे । मन्त्री लेखकले दुर्घटनास्थलमा भाँचिएको रेलिङ तत्काल मर्मत गर्न निर्देशन दिए । उनले त्रिशूली नदी तटीय क्षेत्रमा अत्यधिक दुर्घटना बढेको भन्दै उच्च जोखिम क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई निर्देशन दिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)