Aamsanchar

नागरिकको स्वास्थ्य प्रति चरम खेलबाड, शनिस्चरे अस्पतालको फार्मेसीमा सडिएका औषधि बेचिँदै

Author Image
सोमवार, कार्तिक २४, २०७७

झापा । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालको मातहतमा सञ्चालित फार्मेसीले बिग्रिएको औषधि बिक्री गर्ने गरेको भेटिएको छ ।

स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधि बिग्रिएको जानकारी गराए पनि उक्त औषधि पटकपटक बिक्री गर्ने गरेको पाइएको हो ।गत कार्तिक ४ गते अर्जुनधारा-१० की छुमादेवी गजुरेलले डाक्टरको सिफारिसमा अस्पतालको मातहतमा सञ्चालित रमेश फार्मेसीबाट रगतको मात्रा बढाउने डेन्फर एसटी नामक औषधि खरिद गरेकी थिइन् । स्वास्थ्य बिमाबापत प्राप्त भएको औषधि प्रयोग गर्ने बेलामा फुलेको र फुटेको अवस्थामा भेटिएको थियो ।

औषधिबारे फार्मेसीलाई जानकारी गराउँदा अर्को पाकेट दिएर पठाएको र त्यो पनि बिग्रिएको छुमादेवीले बताइन् ।‘फार्मेसीबाट औषधि ल्याएर खान खोज्दा फुटेको र फुलेको देखेँ’, उनले भनिन्, ‘यस्तो खान हुँदैन भनेपछि छोरालाई फर्काउन पठाएँ, पछि ल्याएको पनि त्यस्तै थियो ।’ फार्मेसीमा रहेको सो औषधि अधिकाशं बिग्रिएको अवस्थामा रहेको पाइएको छ ।बिग्रिएको औषधिका बारेमा अस्पताल प्रशासन र फार्मेसी सञ्चालकलाई जानकारी भए पनि फार्मेसीबाट सो औषधि बिक्री भइरहेको भेटिएको छ ।

फार्मेसी सञ्चालक शिव मैनालीले दशैँ बिदाका बेला जानकारी भएकाले आफूलाई बिग्रिएको औषधिबारे थाहा नभएको बताए । ‘बिदाको बेला आउनुभएको रहेछ, साटेर पठाएका थियौँ’, उनले भने, ‘अहिले हेर्दा अरु पनि बिग्रिएको भेट्यौँ, अब बेच्दैनौँ, कम्पनीलाई जानकारी गराएर फर्काउछौँ ।’उक्त औषधि भारतीय कम्पनी डेनमार्क लाइफसाइन्सेसले उत्पादन गरेको हो । जसको प्रयोग गर्न सकिने मिति सन् २०२२ फेब्रुअरीसम्म रहेको छ ।

यस किसिमका औषधिले मानव स्वास्थ्यमा असर गर्ने भन्दै अस्पतालका सिनियर अधिकृत डम्बरबल्लभ मिश्रले तत्काल फार्मेसीलाई सो औषधि बिक्री गर्न नदिने र उत्पादक कम्पनीलाई जानकारी गराउन निर्देशन दिने बताउँछन् ।‘यस प्रकारका औषधिले मानव स्वास्थ्यमा असर गर्छ नै हाम्रो सेवामा पनि प्रश्न उठ्छ नी’, उनले भने, ‘त्यसैले हामीले आजैदेखि उक्त औषधि नबेच्न निर्देशन दिएका छौँ ।

’बिरामीलाई गुणस्तरीय तथा सुपथ मूल्यमा औषधि उपलब्ध गराउन सरकारले स्वास्थ्य बिमामार्फत् नागरिकलाई उपचार र औषधिको व्यवस्था गर्दै आएको छ । तर, यसरी सरकारी स्वास्थ्य संस्थामार्फत् विक्री बितरण भएका औषधिहरुमै त्रुटि देखिँदा सरकारी स्वास्थ्य सेवालाई आम नागरिकले विश्वास गर्न सकिरहेका छैनन् । श्रोत : न्यजु संजाल

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 192

प्रतिक्रिया (०)

सम्बन्धित खबर