Aamsanchar

रेफ्री कुटिए ,एकपक्षीय निर्णय गरेको आरोप

Author Image
बुधवार, असोज १२, २०७३

refriii

काठमाडौं ।

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार श्री कुमारी र एनआरटीबीच खेलमा निर्धारित ९० मिनेट र तीन मिनेटको इन्ज्युरी टाइम सकिइसकेको थियो । खेल सकिएको संकेतस्वरूप रेफ्रीले ह्विसेल फुकेसम्म केही भएको थिएन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एनरआटीले १–० को जित निकालेको खेल सकिएलगत्तै श्री कुमारीका पदाधिकारी र दर्शक मैदानमा प्रवेश गरे र रेफ्रीमाथि जाइलाग्न थाले । उनीहरूले निर्णायकलाई निर्घात पिटे ।

‘श्री कुमारीका अध्यक्ष नकुल हमाल र टिम म्यानेजर अनुप अधिकारी मैदानभित्र आएर किन गोल नदिएको भन्दै लाइन्सम्यान पदमबहादुर भुजेललाई पन्च हानेर लडाए । त्यसपछि निरन्तर किक हाने । दर्शकले पनि कुटे,’ फिफा रेफ्री सुदीश पाण्डेले भने । टाउको, ढाड र छातीमा चोट लागेका भुजेललाई साँझ अस्पताल लगिएको छ । उक्त खेलमा रेफ्री पाण्डे, लाइन्सम्यान भुजेल र युमाल मल्ल र फोर्थ अफिसियल सहदेव श्रेष्ठ थिए ।

‘हामी सबै निर्णायक पिटियौं,’ रेफ्री पाण्डेले भने, ‘प्रतियोगिता संयोजक राजेन्द्र नेउपाने, अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष विराटजंग शाही, सहायक कोषाध्यक्ष रवीन्द्र जोशीलगायत पदाधिकारी, एन्फाका बाउन्सरहरू तथा प्रहरी घटनास्थलमै थिए । तर, हामीलाई बचाउन कोही आएनन् । उनीहरू ५–७ मिनेटको घटना साम्य भएपछि मात्र मैदानमा ओर्लिए ।’ उनले थपे, ‘खेल सञ्चालनको अवधिमा केही भएको थिएन । केही गल्ती भएको थियो भने भिडियो हेर्दा हुन्छ । उजुरी गर्न सकिन्छ । हामी यस्तो अवस्थामा खेल खेलाउन सक्दैनौं ।’

खेल बहिष्कार गर्ने उक्त घटनाबारे रेफ्रीले रिपोर्ट एन्फामा मंगलबार नै बुझाइसकेको छ । उक्त घटनाको विरोधमा रेफ्रीले खेल बहिष्कार गर्ने भएका छन् । ‘खेलकुदमा सबभन्दा पीडित हामी (रेफ्री) हौं,’ रेफ्री संघका अध्यक्ष सुरेन्द्र शिख्राकरले भने, ‘सुरक्षाकै कमजोरीको कारण घटना भएको हो । त्यसैले हाम्रो पक्षमा निर्णय नआएसम्म हामी कुनै पनि खेल खेलाउदैनौं ।’

म्याच कमिस्नर गोवामा ?
एन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ, महासचिव धीरेन्द्र प्रधान र सीईओ इन्द्रमान तुलाधर भारतको गोवामा भइरहेको एएफसीको विशेष साधारणसभामा सहभागी छन् । तर, एनरआटीविरुद्ध श्री कुमारीको खेलमा एन्फाले म्याच कमिस्नरको रूपमा सीईओ तुलाधरको नाम लेखिएको छ ।

सातदोबाटोको खेलका म्याच कमिस्नर गोवा कसरी ? ‘साथीहरूले लेखिदिए होलान् । सीईओले अर्कालाई तोकेका छन् होला । म आफैं पनि बसेको थिएँ,’ प्रतियोगिताका संयोजक राजेन्द्र नेउपानेले भने ।

एकपक्षीय निर्णय गरेको आरोप
श्री कुमारीका टिम म्यानेजर अनुप अधिकारीले खेलमा रेफ्रीले एनआरटीको पक्षमा निर्णय दिएको आरोप लगाए । ‘रेफ्रीले एकपक्षीय खेलाए । त्यसैले हाम्रा ११ खेलाडीले १४ जना (एनआरटीका ११ खेलाडी र ३ निर्णायक) विरुद्ध खेल्नुपर्‍यो । बराबरी हुने खेल जबरजस्ती हराइयो,’ अधिकारीले भने, ‘खेल अवधिसम्म संयम भएका हौं । खेलपछि कुरा गर्न मैदानभित्र गएको थिएँ दर्शक आक्रामक भएर हात हालेका हुन् । हामीसँग धकालधुकुल भएको हो ।’

२०४१ सालमा स्थापित श्री कुमारी बल्खुको क्लब हो । यो क्लब ५ वर्षअघि ‘बी’ डिभिजनमा उक्लिएको थियो । पहिलोपल्ट माथिल्लो श्रेणीमा उक्लिने अभियानमा रहेको श्री कुमारीले एनआरटीसँग हारेपछि ‘बी’ डिभिजन लिगमा शीर्षस्थान गुमायो । रेफ्रीमाथि कुटपिटको घटनालाई लिएर उसलाई लिगबाटै निलम्बनसम्मको कारबाही हुन सक्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर