तिहारमा विभिन्न समुदायले थरीथरीका खानेकुरा खाने चलन छ। समुदायअनुसार सेल, अनरसा, मिठाइ, भक्का, फिनी, अरसा, झिनियाँ लगायत खानेकुरा तिहारमा विशेष मानिन्छ। आज हामी तपाईंहरूलाई यिनैमध्ये एउटा गुलियो-मिठो परिकार बनाउन सिकाउँदैछौं- अनरसा। अनरसा चामलको पिठोबाट बन्ने परिकार हो। यो लक्ष्मीलाई प्रसादका रूपमा चढाइनुका साथै दिदीबहिनीले आफ्ना दाजुभाइलाई भाइटीका भाग दिँदा पनि हाल्छन्।
यो परिकार बनाउन अलि धेरै समय लाग्छ। सामान्यतया यसका निम्ति दुई दिन तयारी गर्नुपर्छ। एकरात पिठो भिजाएर राख्न र अर्को दिन पकाउन। अनरसा एकतर्फी पाक्ने रोटी हो। यो कसरी बनाउने भन्नेबारे बुझाउन हामीले विभिन्न देशमा काम गरी अनुभव सँगालेका कस्मोपोलिटन सेफ कुमार चालिसेको सहयोग लिएका छौं।
कुमारले बताए अनुसार अनरसा यसरी बनाउन सकिन्छ।
आवश्यक सामग्रीः
- फ्राइ प्यान वा कराई
- एक चम्चा जिराको धूलो
- मिक्सचर मेसिन वा मिलमा मसिनो गरी पिसिएको ४ सय ग्राम चामलको पिठो (वा आवश्यकता अनुसार)
- नेपाली घ्यू, एक केजी
- कागतीको रस, १ सय मिलिलिटर
- सेतो तिल, ५० ग्राम
- स्वाद अनुसारको चिनी
- ५० ग्राम किसमिस (काटिएको)
- सुकेको नरिवलको मसिनो टुक्रा, २० ग्राम
माथिका सामग्रीहरू तयार छन् भने अब हामी अनरसा बनाउन सक्छौं।
बनाउने तरिकाः
यसका लागि सबभन्दा पहिले एकदमै मसिनो गरी पिसिएको चामलको पिठो चाहिन्छ। एउटा गहिरो (स्टिलको सानो बाटा वा डेक्ची) मा यो पिठोलाई आवश्यक मात्रामा चिनी र कागतीको रस राखेर केहीबेर मज्जाले माड्ने। चिनी, कागतीको रस र पिठो राम्ररी मिसिएपछि यसमा नरिवल र किसमिस पनि हाल्ने। यसलाई पनि राम्ररी मिसाएपछि पिठोलाई हत्केलाले बलियो गरी दबाउने। कसिलो भएर सबैतिर दबिएपछि पूरै भाँडो छोपिने बिर्को लगाउने। यो मिश्रणलाई रातभर वा ६-७ घन्टा छाडिदिने। यतिन्जेल चिनी राम्ररी पग्लिएर पिठो भिज्छ र डल्ला बनाउन सहज हुन्छ। यसरी भिजेको थोरै थोरै पिठो लिँदै हातमा घ्यू दलेर मुछ्दै जाने। यसरी मुछ्दा पिठोको डल्ला चिल्लो र नरम हुनुपर्छ।
अब पिठोको डल्लोलाई प्लेटमा राखिएको तिलमाथि राख्ने। विस्तारै पिठोको डल्लोलाई हातले थप्थपाउँदै रोटीको आकार दिने। यसरी रोटी बनाउँदा धेरै बाक्लो वा पातलो बनाउनु हुँदैन। अब हावा नलाग्ने स्थानमा कम आँचमा ग्यास बाल्नुस्। कराइ वा प्यानमा घ्यू राम्ररी तताउनुस्। तातेको घ्यूमा अघि आकार दिइएको अनरसालाई तिल माथितिर फर्किनेगरी हाल्नुस्। अब विस्तारै कराइको तातो घ्यू पन्युले तिल भएको भागमाथि हाल्दै अनसरा पाक्न दिनुस्। पन्युले घ्यू उघाउँदा अनरसामा लागेर नबिग्रियोस् भन्नेमा पनि ध्यान दिनुपर्छ।अनरसा एकतर्फी मात्र पकाउनुपर्छ, फर्काउन हुँदैन। अब अनरसाको माथिल्लो भाग हलुका रातो रङ देखिएपछि विस्तारै चेप्टो पन्युले निकाल्नुस्। यसरी बनाइएको अनरसा सेलाएपछि खान तयार हुन्छ।