Aamsanchar

तेह्रथुमको आठराईदेखि ताप्लेजुङको मैवाखोला जोड्ने सडक घोषणाभन्दा बाहिर गएर सर्भे गरिएको भन्दै स्थानीयको विरोध

Author Image
सोमवार, मंसिर १५, २०७७

ताप्लेजुङ — तेह्रथुमको आठराई गाउँपालिकादेखि ताप्लेजुङको मैवाखोला जोड्ने सडक निर्माणमा घोषणाभन्दा बाहिर गएर सर्भे गरिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुनमा आफ्नो पुर्ख्यौली थलोदेखि मदन भण्डारीको जन्मस्थल जोड्ने गरी उक्त सडक शिलान्यास गरेका थिए ।

आठराईको सुकेपोखरीदेखि मैवाखोला गाउँपालिका–१ ढुंगेसाँघु जोड्ने उक्त सडकको अहिले डीपीआर भइरहेको छ । तेह्रथुमको आठराई इवा, ह्वाकु र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाको तल्लो क्षेत्रका बासिन्दाले प्रधानमन्त्रीको घोषणाविपरीत सर्भे भएको भन्दै विरोध जनाएका छन् । नारायणप्रसाद डाँगीको अध्यक्षतामा संघर्ष समिति गठन गरेका उनीहरूले सोमबार तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुको वडा कार्यालयमा धर्ना दिएका छन् । त्यसअघि आइतबार वर्डा नं ४ इवामा धर्ना दिएका थिए । घोषणाअनुसारै सर्भे गर्न माग राखी भौतिक योजना तथा निर्माण मन्त्री वसन्त नेम्वाङलाई ज्ञापनपत्रसमेत बुझाएको अध्यक्ष डाँगीले बताए ।

इवाका सूर्य बानियाँ सिधा लैजानुपर्ने सडक तेह्रथुमको इवामा सातवटा ‘टर्निङ’ बनाएर उकालो घुमाइएको दाबी गर्छन् । प्रधानमन्त्रीले ताप्लेजुङको चोकपुर हुँदै लैजाने भने पनि अहिले उक्त स्थानलाई नछोइएको उनको आरोप छ । यो सडक निर्माणको जिम्मेवारी पाएको सडक डिभिजन कार्यालय धनकुटाका प्रमुख दानवहादुर शाक्य मन्त्रीको निर्देशनअनुसार सर्भे भइरहेको बताउँछन् । ‘अब तलबाट लैजानुपर्‍यो भने त्यसैअनुसार निर्देशन हुनुपर्‍यो,’ उनले भने, ‘डीपीआरको काम हामी निर्देशनअनुसार गरिरहेका छौं ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 273

प्रतिक्रिया (०)

सम्बन्धित खबर