मेचीनगर। मेचीनगर नगरपालिकाले बाझो जमिनको पहिचान गरी त्यसमा खेती गर्नका लागि कृषकलाई आग्रह गरे लगत्तै स्थानीय स्तरमा विभिन्न प्रकारका उद्योग सञ्चालनमा आउन थालेका छन् । यसै क्रममा झापाको मेचीनगर— १० खयरडागीमा तोरी पेल्नका लागि तोरी मिल उद्योग आगामी फागुन १ गतेबाट सञ्चालनमा आउने भएको छ । उद्योगका लागि आवश्यक भवन निर्माणका लागि ठेक्का लागि सकेको र माघ २५ गते सम्ममा भवन सम्पन्न भएर फागुन १ बाट उद्योग सञ्चालनमा आउने छ ।
सहज महिला कृषि सम्बृद्घि बहुउद्घेश्यीय सहकारी संस्था लि मेचीनगर—१० खयरडागीले उद्योग सञ्चालनमा ल्याउने भएको हो । सोमबार मेचीनगर नगरपालिकाका कार्यवहाक प्रमुख मीना पोखरेल उप्रेतीले उद्योगको शिलान्यास गर्नुभएको छ । शिलान्यास समारोहमा बोल्दैं कार्यवहाक प्रमुख उप्रेतीले नेपाललाई कृषि प्रधान देश भनिए पनि कृषि तथा अन्य खाद्य वस्तुका लागि नेपाल अझै सम्म आत्मनिर्भर बन्न नसकेको बताउनुभयो ।
उहाँले कृषिको परनिर्भरको अन्त्य गदैं स्थानीय कृषकको बाझो जग्गामा खेती गर्नका लागि नगरपालिकाले प्रोत्साहन गर्ने बताउनुभयो । नगरका विभिन्न भागमा रहेका बाझो जग्गाको पहिचान गरेर त्यहा माटो अनुसारको खेती गर्न सुझाव समेत दिनुभयो । त्यसका लागि सिञ्चाइ, मल बीउबीजनलगायतका सामग्री उपलब्ध गराउन नगरपालिका जुट्न उहाँको भनाई थियो ।
संस्थाकी अध्यक्ष शारदा शर्मा घिमिरेले शिलान्यास समारोहको सभापतित्व गदैं संस्थाले विगतका वर्षदेखि नै कृषकले उत्पादन गरेको तोरी खरीद गरी त्यसको सरसफाई गदैं तोरी पेल्ने र तेल प्रशोधन पछि विक्री वितरण गदैं आएको जानकारी दिनुभयो । यसवर्षदेखि संस्थाका शेयर सदस्यहरुबाट, स्थानीय सरकार मेचीनगर नगरपालिका र कृषि तथा पशुपक्षी मन्त्रालयको स्थानीय निकायको करीव ७५ लाख रुपैयाँको लागतमा तोरी उद्योग सञ्चालनमा ल्याउन लागेको बताउनुभयो ।
यसका लागि सहकारीले स्थानीय शेखर शिवाकोटी सञ्चालक रहेको शिवाकोटी राइस मिल परिसमा १० वर्षका लागि जमीन लिजमा लिएर उद्योग स्थापना गर्ने योजना रहेको प्रष्ट पार्नुभयो । लगानी जुटाउने, कृषकलाई तालिमसहित तोरी उत्पादन तथा मिल सञ्चालन गरेपछि कृषकहरुलाई तोरी खेतीतर्फ प्रोत्साहन गर्नेलगायतका काम गर्ने बताइएको छ । उद्योगले आफूलाई आवश्यक तोरी स्थानीय स्तरबाटै खरिद गर्ने र अपुग भएमा देशभित्रैबाट पनि खरिद गर्ने प्रशोधन पछि शुद्घ तोरीको तेल विक्री गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो ।
विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख प्रतिनिधि, किसान उद्योगी व्यवसायीलगायतको सहभागिता रहेको शिलान्यास समारोहको सञ्चालन संस्थाकी सचिव हेमकला खरेल शिवाकोटीले गर्नुभएको थियो ।