बझाङ ।
काँडालगायतका दर्जनौँ गाउँमा खाद्यान्न सङ्कट भएको छ ।
सर्वसाधारण जङ्गली कन्दमूल र सिस्नु खान थालेका छन् । ग्रामीण भेगमा खाद्यान्न ढुवानी हुन सकेको छैन । व्यापारीले भने खाद्यान्न ढुवानी नगरी रक्सी ढुवानी गर्न थालेका छन् ।
ग्रामीण भेगमा खाद्यान्न ढुवानी गर्दा व्यापारीलाई कम फाइदा हुने भएपछि उनीहरु खाद्यान्नको साटो बढी फाइदा लिन रक्सी ९मदिरा० ढुवानी गर्न थालेका हुन् । बर्सेनि खाद्यान्नको सङ्कट झेल्दै आएका उत्तरी भेगका न्युना, बलौडी, लट्टोन, कोल, रजाडा, सैनगाउँ, बिछाडा, धलौन, एैराडी, पराली, डाउगाउँलगायतका बासिन्दा खाद्यान्न अभाव हुँदा जङ्गली कन्दमूल, सिस्नु खान थालेका छन् ।
व्यापारीले पसलमा खाद्य सामग्री नराखी मदिरामात्र राख्ने गरेका काडाँ गाविसका उमेश बोहराले बताउनुभयो । “अन्न नछोएको पाँच दिन भयो, दसैँ तिहारमा भात खानु पर्ला भनेर गाउँका सबै पसल चाहारेँ, कतै चामल भेटाइनँ,” उहाँले भन्नुभयो । उहाँलाई सदरमुकाम चैनपुर पुग्न चार दिन लाग्छ ।
पाखो जमिनमा लगाएको कोदो, मकै, आलुलगायतका बाली घर भित्र्याउन नपाउँदै स्याल, भालु, बँदेलजस्ता जङ्गली जनावरले खाइसकेको काडाँ गाविस–३ का रामबहादुर बोहराले बताउनुभयो । “घरमा एकमुठी अन्न छैन, ऐँचोपैँचो गरौँ भने पनि कसैको घरमा अन्न छैन,” उहाँले भन्नुभयो । भोकमरी भएको गाउँमा व्यापारीले खाद्य सामग्री ढुवानी गर्नुको साटो रक्सी ढुवानी गर्न थालेका छन् । चैनपुर पुग्न चार दिन लाग्ने काँडामा एक किलो मोटो चामलको मूल्य रु १६० पर्छ ।
“व्यापारीले फाइदा लिने हो, हामिलाई खाद्य सामग्रीमा भन्दा मदिराबाट बढी फाइदा हुन्छ,” काडाका व्यापारी राजेन्द्र बोहराले भन्नुभयो । चैनपुरबाट कमसल खालको मदिरा रु ३० मा किनेर रु ८० मा बिक्री गर्ने गरेको बोहराले बताउनुभयो । द्वन्द्वका समयमा बन्द भएको मेलबिसैना खाद्य डिपोबाट नागरिकले आवश्यकता अनुसार चामल पाउन सकेका छैनन् । डिपोमा चामल ढुवानी गर्न सम्बन्धित निकायले पहल नगरेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् ।