

विराटनगर । भारत सरकारले अनुदानमा उपलब्ध गराएकोमध्ये कोभिडविरुद्धको ३५ हजार ५ सय डोज खोप प्रदेश १ ल्याइएको छ । विराटनगरमा क्षेत्रीय औषधि गोदाममा खोप भण्डारण गरिएको छ । अनुदानको कोभिसिल्ड खोप हेटौंडाबाट स्थलमार्ग हुँदै विराटनगर ल्याइएको हो । सामाजिक विकास मन्त्रालय प्रदेश १ का स्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्नेतले प्रदेशमा माघ १४ गतेदेखि खोप लगाउने तयारी गरिएको बताए ।खोप दुई दिनभित्र प्रदेश १ का १६ वटै जिल्लामा खोप सुरक्षित रुपमा ढुवानी गर्ने स्वास्थ्य निर्देशनालयले व्यवस्था मिलाएको छ ।

पहिलो खेपमा खोपको प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई खोप लगाइने छ । प्रदेश १ मा हालसम्म कोरोना ठिक भई २९ हजार ५५८ जना डिस्चार्ज भएका छन्। अहिले सक्रिय संक्रमितको संख्या ९६ जना रहेको छ । प्रदेशमा हालसम्म ३० हजार ११९ जनामा संक्रमण पुष्टि भएको छ । स्थानीय तहले खोप लगाउने स्वास्थ्यकर्मीको नामावली तयार गरेका छन ।


