Aamsanchar

आजबाट कोरोना बिरुद्धको खोप लगाईदै, झापा सहित प्रदेश १ का १४ जिल्लामा २३ खोप केन्द्र

Author Image
बुधवार, माघ १४, २०७७

विराटनगर : प्रदेश १ मा कोभिड १९ ‘कोभिसिल्ड भ्याक्सिन’ लगाउने ठाउँ तय गरिएको छ। प्रदेश १ का १४ जिल्लामा २३ खोप केन्द्र निर्धारण गरिएको छ। बुधबारदेखि प्रदेशभर खोप लगाइँदै छ। २३ खोप केन्द्र निर्धारण गरेर पहिलो चरणमा कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई खोप लगाइने व्यवस्थापनको तयारी पूरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ। 

३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप कार्यक्रम

पहिलो चरणमा ३५ हजार ५७६ जनालाई पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरीक्षक चन्द्रकान्त ठाकुर जानकारी दिए।  ठाकुरका अनुसार पहिलो डोज लगाएका नागरिकलाई चार हप्तापछि दोस्रो डोज लगाइने छ। १४ जिल्लाबाहेक प्रदेश २ का सिरहा–सप्तरीका ७ हजार ६८४ जनालाई खोप लगाउने कार्यक्रमका लागि सम्बन्धित केन्द्रमा भ्याक्सिन पुगिसकेको छ,’ उनले भने, ‘सिरहा र सप्तरीका लागि समेत विराटनगरबाटै खोप पठाइएको हो।

कुनकुन जिल्लामा कुन बार खोप लगाउने 

केन्द्र निर्धारण गरी स्वास्थ्यकर्मीहरुलाई मंगलबार तालिम दिने काम गरिएको प्रदेश निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए। 

निर्देशनालयले पाँचथर, खोटाङ र ओखलढुंगामा बिहीबार र सोलुखुम्बु तथा संखुवासभामा शुक्रबार खोप लगाउने कार्यक्रम तय गरेको छ। ६ जिल्लाबाहेक प्रदेश १ का ८ जिल्लामा बुधबार खोप कार्यक्रमको शुभारम्भ गरिनेछ।

कुन जिल्लाको कुन अस्पतालमा खोप केन्द्र 

झापाको मेची, दमक र बिर्तामोड अस्पताल, मोरङको कोशी, रंगेली, विराट मेडिकल कलेज र नोबेल अस्पताल, सुनसरीको बीपी, इनरुवा, इटहरी अस्पतालमा खोप लगाउने केन्द्र तोकेको छ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा सोमबार ९ हजार ६०० भायल खोप स्वास्थ्य मन्त्रालयले पठाएको थियो। त्यसको वितरणको काम सकिएको निरीक्षक ठाकुरले जानकारी दिए। ‘खोपका लागि कोल्ड बक्समा ‘आइसप्याक कन्डिसिन’ सुरक्षा अपनाएर पठाइएको छ,’ उनले भने, ‘एक भायलमा १० डोज खोप हुन्छ। त्यसका लागि आवश्यक पर्ने ‘एडिनालिन इन्जेक्सन र सिरिन्ज’समेत केन्द्रसम्म आएको थियो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 187

प्रतिक्रिया (०)

सम्बन्धित खबर