Aamsanchar

सूर्योदय नगरपालिकाद्वारा इलाममा पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण

Author Image
शुक्रवार, माघ १६, २०७७

इलाम : इलाममा पहिलो पटक सूर्योदय नगरपालिकाले स्थानीय पाठ्यक्रम अध्ययन गराउने कार्य अघि बढाएको छ। नगरपालिकाले आधाभूत तह (कक्षा १–८)मा स्थानीयताबारे विद्यार्थीहरुलाई जानकारी गराउने लक्ष्यका साथ स्थानीय पाठ्यक्रम २०७७ निर्माण सम्पन्न गरी पाठ्यपुस्तक लेखनको कार्यलाई अघि बढाएको हो। स्थानीय सरकार गठन भएपछि नगरपालिकाले चियाको पाठ्यक्रम बनाउन छलफल चलाएर प्रक्रिया अघि बढाएको थियो।

पाठ्यक्रम विकास केन्द्रले चिया अध्ययनसम्बन्धी केही प्राविधिक समस्या देखाएपछि विज्ञहरुसँगको छलफलपछि डेढ वर्षअघि शिक्षा शाखाका अधिकृत योगनिधि भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय पाठ्यक्रम निर्माण समिति गठन गरेर प्रक्रिया अघि बढाएको नगर प्रमुख रणबहादुर राईले बताए।  समितिले १० महिना लगाएर बनाएको कक्षा १ देखि ८ सम्मको पाठ्यक्रम सार्वजनिक समेत गरिसकिएको छ।

नगर क्षेत्रका ९० सामुदायिक र संस्थागत विद्यालयमा आगामी वर्षदेखि लागु गर्न तयारी अघि बढिरहेको शिक्षा शाखाका प्राविधिक सहायक नवीन पौडेलले जानकारी दिए। पाठ्यपुस्तक लेखनका लागि नगर क्षेत्रका विद्यालयहरुबाट १४ जना शिक्षक छनौट गरेर तालिम दिइएको पौडेलले बताए। विज्ञहरुबाट निरन्तर अनलाइन सहजीकरण गराउँदै पाठ्यपुस्तक लेखन कार्य अगाडि बढ्ने छ।

पाठ्यक्रममा बालबालिकाले विद्यालयको आधारभूत तहमा स्थानीय जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका नीतिगत व्यवस्थादेखि नगरपालिकालाई समृद्ध बनाउनेसम्मका विषय समेटिएका छन्। स्थानीय पाठ्यक्रम संविधानको कार्यान्वयनको एउटा पाटो समेत रहेको नगर प्रमुख राई बताउँछन्। ‘नेपालको संविधानको अनुसूची–८ मा आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मा स्थानीय तहलाई प्रदान गरिएको छ,’ नगर प्रमुख राईले भने, ‘संविधानको कार्यान्वयन गर्नु सबै स्थानीय तहको कर्तव्य हो।’

नगर प्रमुख राईका अनुसार आधारभूत तहका विद्यार्थीले औपचारिक रुपमा आफ्नो गाउँ, समाज, भूगोलको वस्तुनिष्ट ज्ञान, स्थानीय सरकारको महत्त्व र आवश्यकता, गाउँमा प्रचलित भाषा, संस्कृति, ऐतिहासिक र धार्मिक महत्त्वका स्थानको जानकारीसमेत हासिल गर्नेछन्। यस्तै, पाठ्यक्रममा प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्र्धन, सम्भावित जोखिम तथा विपत्तिबारे अध्ययन गराइनेछ। पाठ्यपुस्तकमा सामाजिक मूल्य–मान्यता, असल व्यवहार गर्दै परिवार समाजप्रतिको कर्तव्य पालना गर्नका लागि सीप र ज्ञान अनुशरण गर्न बालबालिकालाई प्रोत्साहित गर्ने विषय समेटिएको छ।

पाठ्यक्रम निर्माणको लागि २५ लाख रुपैयाँ बजेट खर्च भएको नगरले जनाएको छ। पाठ्यक्रम निर्माण गर्न सूर्योदय शिक्षा शाखाले पाठ्यक्रमको विकासका निम्ति तीन वर्षदेखि पाठ्यक्रम विज्ञ र सरोकारवालासित छलफल, गोष्ठी, सल्लाह, सुझाव लिएको थियो।

स्थानीय पाठ्यक्रम निर्माण गर्ने नीतिगत व्यवस्था

नेपालको संविधानको अनुसूची ८ मा आधारभूत र माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहलाई दिएको छ।  राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७१ अनुसार आधारभूत तहमा १०० पूर्णाङ्कको मातृभाषा वा स्थानीय विषय राख्न पाउने व्यवस्था गरेको छ।

राष्ट्रिप पाठ्यक्रम प्रारुप २०७६ ले स्थानीय पाठ्यक्रमको सम्बन्धमा कक्षा १ देखि ३ सम्म साप्ताहिक ५ पाठ्यभार राखेर वार्षिक १६० घण्टा पढाउनुपर्ने व्यवस्था गरेको छ। यस्तै, कक्षा ४ देखि ८ सम्मका लागि पाठ्यभार ४ राखेर १२८ घण्टा पढाउनुपर्ने व्यवस्था छ। 

संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट प्रकाशित स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन निर्देशिका (मातृभाषासहित), २०७६ ले स्थानीय पाठ्यक्रमको सन्दर्भ अवधारणा, पाठ्यक्रम विकास, कार्यान्वयन प्रक्रिया, स्थानीय पाठ्यक्रमको ढाँचाको मार्गनिर्देश गरेको छ।

सरकारबाट एकीकृत पाठ्यक्रम कक्षा १ (३) को ढाँचा स्वीकृत भई देशभर २०७७ देखि कार्यान्वयनमा छ। पाठ्यक्रममा व्यवस्था भएअनुसार कक्षा १ देखि ३ सम्म ५ वटा विषय गणित, नेपाली, अंग्रेजी, हाम्रो सेरोफेरो र मातृभाषा÷स्थानीय विषय पढाउनुपर्ने प्रावधान छ। स्थानीय पाठ्यक्रम वा मातृभाषामध्ये एउटा विषय छनोट गरी पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्नुपर्ने प्रावधान छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर