Aamsanchar

व्यक्तिले एकआपसमा जग्गा किनबेच गर्न नपाईने नीति बनाउदै सरकार

Author Image
शुक्रवार, चैत १३, २०७७

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले घरजग्गा कारोबारका लागि भूमि बजार (ल्यान्ड मार्केट) ल्याउने तयारी गरेको छ ।

घरजग्गा कारोबारमा ठगी, अनियमिता जस्ता कार्य मौलाएको भन्दै यसलाई अन्त्य गर्नका लागि मन्त्रालयले ल्यान्ड मार्केट ल्याउन लागेको हो ।

मन्त्रालयले ल्यान्ड मार्केटको ल्याउनका लागि प्रारम्भिक गृहकार्य शुरु गरिसकेको मन्त्रालयका प्रवक्ता जनकराज जोशीले जानकारी दिए । उनका अनुसार मन्त्रालयले गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदनसमेत बुझाइसकेको जोशीले बताए ।

मन्त्रालयले जग्गा कारोबारका लागि भूमि बजारको आवश्यता रहेको भन्दै यस विषयमा अध्ययन तथा गृहकार्य शुरु गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार उक्त भूमि बजार अर्थात् ल्यान्ड मार्केटको प्रतिवेदनको पूर्णपाठ भने १५ दिनभित्र पेश गर्ने तयारी गरेको उनले जानकारी दिए ।

‘ल्यान्ड मार्केट ल्याउनका लागि हामी प्रारम्भिक चरणमा छौं । यो नीतिगतरुपमा भूमिसँग सम्बन्धित कारोबारहरू आधिकारिक र मान्यताप्राप्त संस्थामार्फत् गर्नुपर्छ भन्ने विषय नीतिगत तथा कार्यक्रममा आइसकेको छ,’ उनले भने, ‘अब भूमि नीति, ऐन र यससँग सम्बन्धित केही व्यवस्थाहरू गर्नुपर्छ भन्ने विषयमा छलफल भइसकेको छ ।’

साथै, यसलाई कार्यान्वयन कसरी ल्याउने, कार्यविधि, ऐन–नियममा के–के हुनुपर्ने, संस्थागत संरचना कस्तो हुनुपर्ने र कसले कसरी काम गर्ने भन्ने अहिले अध्ययनको क्रममा रहेको उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 271

प्रतिक्रिया (०)