काठमाडौं –वनमन्त्री प्रेम आलेले राष्ट्रिय गौरवको रुपमा रहेको वीरगञ्ज–ठोरी हुलाकी सडक निर्माणमा अवरोध नपुर्याउन चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराललाई निर्देशन दिएका छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरी काम अगाडि बढाएको भन्दै निकुञ्जले वीरगञ्ज–ठोरी हुलाकी सडकखण्ड अन्तर्गत ठोरी १ र २ मा करिब ५ किलोमिटर सडक निर्माणमा रोक लगाएको छ ।
सांसद लक्ष्मणलाल कर्णसहितको एक प्रतिनिधि टोलीले वनमन्त्री आलेसँग भेट गरी तत्काल सडक निर्माणको काम अघि बढाउने वातावरण बनाइदिन विहीबार आग्रह गरेको थियो । मन्त्री आलेले संरक्षण अधिकृत बराललाई फोन गरेर सडक निर्माण कार्य नरोक्न निर्देशन दिएको भेटमा सहभागी प्रतिनिधि टोलीका सदस्य सन्तोष श्रेष्ठले जानकारी दिए । संरक्षण अधिकृत बराललाई टेलिफोन गर्दै मन्त्री आलेले भने, ‘राष्ट्रिय गौरवको आयोजना हो । वातावरण प्रभाव मूल्यांकन पनि हुँदै गर्छ । काम पनि नरोकौं । काम अगाडि नबढे बजेट नै फ्रिज हुन सक्छ । जनताको काम हो । यस्तो काममा हामीले सहयोग नै गर्नुपर्छ ।’
मन्त्रीसँगको टेलिफोन सम्वादमा संरक्षण अधिकृत बरालले फास्ट ट्र्याकबाट वातावरणीय प्रभाव मूल्यांकन गरेर काम अघि बढाउन सकिने बताएका थिए । तर मन्त्री आलेले वातावरणीय प्रभाव मूल्यांकन गर्दा ६ महिना बित्न सक्ने भन्दै दुवै काम सँगसँगै अगाडि बढाउन सकिने बताएका थिए । प्रतिनिधि टोलीले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका निर्देशकसँग पनि भेट गरेको थियो ।
निकुञ्जले सडक निर्माणमा अवरोध पु¥याएको भन्दै ठेकदार कम्पनीले अधुरो सडक हस्तान्तरण गरेर हिँडेपछि स्थानीयले संघर्ष समिति नै बनाएर चरणवद्ध आन्दोलन गर्दै आइरहेको छ ।