खोटाङ।
कालोपत्रेको काम थालिएको दिक्तेल–हलेसी सडकखण्डको अर्खौले क्षेत्रमा निर्माण गरिएको नाली र पर्खाल बनाई नसक्दै भत्किएको छ । सडकमा पस्ने भलबाढी कटाउन आसपासमा निर्माण गरिएको नाली तथा सडकमुनिबाट उठाइएको पर्खाल बनाई नसक्दै भत्किएको हो । निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीको लापर्बाहीले निर्माणाधीन सडकको नाली र पर्खाल बनाई नसक्दै भत्किएको स्थानीय किशोर श्रेष्ठले बताउनुभयो ।
नाली र पर्खाल निर्माणमा प्रयोग गरिएको सिमेन्ट र बालुवाको मात्रा नमिलेकै कारण बनाइ नसक्दै भत्किएको निर्माण गर्नमा सहभागी कामदारले स्वीकारेका छन् । “हामीले मात्रा मिल्दैन भनेकै हो ।” नाम नभन्ने सर्तमा एक कामदारले भने, “ज्यालादारीमा काम गर्ने कामदार न परियो, ठेकेदारले अह्राएको काम गर्दा यस्तै भयो ।”
आयोजनास्थलमा खटिनुभएका इन्जिनियर प्रकाश चौधरीले भने सडकमा निर्माणाधीन नाली तथा गाह्रो भत्किनुका कारण लगातारको वर्षा भएको दाबी गर्नुभयो । मध्यपहाडी लोकमार्गमा पर्ने ४२ किलोमिटर सडकमध्ये हलेसीदेखि अर्खौलेसम्मको १२ किलोमिटर सडक कालोपत्रेको जिम्मा सूर्य कन्ट्रक्सनले लिएको हो ।
जिल्लामा निर्माणाधीन भौतिक पूर्वाधारका विषयमा स्थानीय प्रशासनले समेत चासो नदिएको स्थानीयले बताएका छन् । दुई वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको उक्त सडक ठेकेदार कम्पनीको लापर्बाहीले तीन वर्ष पूरा हुँदा समेत सम्पन्न भएको छैन ।
एसियाली विकास बैंकको आर्थिक सहयोगमा कालोपत्रेको काम थालिएको सडक हाल फराकिलो पार्नेबाहेक केही भएको छैन । वर्षायाममा समेत सवारीसाधन सञ्चालन हुँदै आएको उक्त सडकमा अहिले फराकिलो पार्ने क्रममा सडकमा झरेको आलो माटोका कारण यातायात अवरुद्ध छ ।
जिल्लाका अन्य विकासे योजनामा समेत खबरदारी गर्न आवश्यक रहेको नेकपा ९माओवादी केन्द्र० खोटाङकी सचिव दुर्गाजयन्ती राईले बताउनुभयो । जिल्लामा निर्माणाधीन सडक मात्र नभई सबैजसो विकासे योजनामा ठेकेदारले लापर्बाही गर्ने गरेको पाइएको छ । केही वर्षअघि निर्माण सम्पन्न भएको जिल्ला विकास समितिको भवनसमेत कम गुणस्तरीय रहेको बताइएकोछ ।