Aamsanchar

कोभिसिल्डको दोस्रो डोज पुरा गरेका धरानस्थित बीपी प्रतिष्ठानका चिकित्सकलाई कोरोना संक्रमण

Author Image
मङ्गलवार, चैत ३१, २०७७

सुनसरी — कोरोनाविरुद्धको खोप कोभिसिल्डको दुई मात्रा (डोज) पूरा गरिसकेका चिकित्सकलाई कोरोना संक्रमण भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशंकर साहलाई आइतबार कोरोना संक्रमण पुष्टि भएको हो ।

खोपको डोज पूरा गरेर पनि पुनः संक्रमण भएको घटना सम्भवतः नेपालमा यो पहिलो भएको जनाइएको छ । उनले भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोभिसिल्डको डोज पूरा गरिसकेका थिए । उनले माघ १४ गते पहिलो र चैत १७ गते दोस्रो डोज खोप लगाएका थिए । उनीसँगै प्रतिष्ठानका १ हजार ७ सय ३३ जनाले खोपको दोस्रो डोज लिएका थिए ।

खोपको डोज पूरा गरे पनि विराटनगरमा रहेका संक्रमित छोराको सम्पर्कमा आएपछि आफूलाई पनि संक्रमण भएको साहले बताए । उनले भने, ‘संक्रमित छोराको सम्पर्कमा आएपछि मैले धरान आएर हाम्रै प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको पीसीआर ल्याबमा परीक्षण गर्दा मलाई पनि कोरोना पोजिटिभ देखियो । अहिले म नेपाल सरकारबाट जारी भएको निर्देशिकाबमोजिम सतर्कता अपनाउँदै होम क्वारेन्टाइनमा बसेको छु ।’ उनलाई कोरोना संक्रमण पुष्टि भए पनि लक्षण देखा परेको छैन ।

धरानमा बसेका परिवारका अन्य सदस्यको रिपोर्ट भने नेगेटिभ आएको डा. साहले बताए । डा. साहले आफूलाई कोभिसिल्ड खोपको डोज पूरा गरे पनि कोरोना संक्रमण देखिएको बारे थप शंका नगर्न आग्रह गरे । उनले भने, ‘कोभिसिल्ड खोप प्रभावकारी नै छ, डोज पूरा गरे पनि संक्रमण त हुन सक्छ तर स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न भएको छैन ।’ तर कतिपयले खोप भरपर्दो नभएकाले डोज पूरा गरे पनि अस्पताल निर्देशक डा। साहलाई कोरोना संक्रमण भएको प्रतिक्रिया दिएका छन् ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर