काँकडभिट्टा — भारतीय आधार कार्ड भएका शंकास्पद बंगलादेशी नागरिक पक्राउ परेपछि उनीहरूको अवैध बसोबासबारे थप खुलासा भएको छ । धुलाबारीबाट मंगलबार जयन्त सिंह नाम गरेका बंगलादेशीलाई प्रहरीले पक्राउ गरेको थियो । उनी ४ वर्षदेखि झापाको धुलाबारीमा बस्दै आएका थिए ।
बंगलादेशमा आपराधिक गतिविधिमा संलग्न रहेका उनी अवैध रूपमा भारत प्रवेश गरी भारतीय आधार कार्ड बनाएर नेपालमा बस्दै आएको प्रहरी स्रोतको भनाइ छ । उनको आधार कार्डमा ठेगाना खोरीबारी, दार्जिलिङ उल्लेख छ । तर बंगलादेशको राजधानी ढाकामा रहेका परिवारसँग उनी निरन्तर सम्पर्कमा रहेकाले उनी भारतीय नभएर बंगलादेशी नै रहेको प्रहरी स्रोतको दाबी छ । स्रोतका अनुसार पश्चिम बंगालसँग सिमाना जोडिएका झापाका सीमावर्ती सहर तथा ग्रामीण भेगमा बंगलादेशीहरू भारतीय बनेर लुकेर बस्ने गरेका छन् । उनीहरू विभिन्न उद्योग तथा कलकारखानामा श्रमिकसमेत रहेको पाइएको छ । खासगरी मेचीनगर, भद्रपुर तथा दक्षिणी झापाका ग्रामीण भेगमा बंगलादेशीहरू भारतीयका रूपमा कार्यरत छन् ।
बंगलादेशीलाई अवैध रूपमा भारतीय आधार कार्ड बनाउने भारतीय गिरोह पनि सीमावर्ती क्षेत्रमा सक्रिय छ । ‘बंगलादेशी नागरिक रहेको सूचनाका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो,’ इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी सुनील दाहालले भने, ‘आधार कार्ड हेर्दा भारतीय देखिए पनि उनले आफू बंगलादेशी रहेको स्विकारेका छन् । अन्य प्रमाण नभएका कारण उनलाई बिहीबार साँझ हिरासत मुक्त गरिएको छ । अब उनी निरन्तर हाम्रो निगरानीमा हुनेछन् ।’
पश्चिम बंगालका बंगाली र बंगलादेशी नागरिकको रूप, रंग, चालचलन र भाषासमेत मिल्दोजुल्दो हुँदा उनीहरूलाई सहजै छुट्याउन सकिँदैन । जसका कारण पूर्वी नाकाबाट बंगलादेशीको अवैध प्रवेश सहज हुने गरेको छ । अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख जनक कोइरालाले प्रहरीले पक्राउ गरेका व्यक्ति बंगलादेशी रहेको हो भने अध्यागमन विभागले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउने जनाए । ‘यदि उनी बंगलादेशी नै रहेको र अवैध रूपमा बसेको हो भने विभागमार्फत उनलाई जरिवाना गरेर बंगलादेश डिपोर्ट गर्न सकिने प्रावधान छ,’ उनले भने ।
कोरोना संक्रमण सुरु भएपछि समेत भारतीय नाका हुँदै अवैध रूपमा नेपाल छिर्न लागेका दुई बंगलादेशी सीमावर्ती पानीट्यांकीमा समातिएका थिए । बंगलादेशीहरू सुरुमा भारतीय बनेर नेपाल छिर्ने र पछि अवैध रूपमा नेपाली नागरिकता लिएर आपराधिक धन्दामा सक्रिय हुने गरेका उदाहरण प्रशस्त छन् । भारतीय प्रहरी स्रोतका अनुसार पश्चिम बंगालको दक्षिण दिनाजपुरस्थित भारत–बंगलादेश सीमा क्षेत्र हिली र बंगलाबन्धलगायतका नाकाबाट उनीहरू प्रवेश गर्ने गरेका छन् ।