रुख कटहर ( Jackfruit ) विभिन्न ग्रीष्मकालीन फलहरू मध्ये एक महत्त्वपूर्ण फल हो । यो नेपाल बाहेक भारत, वर्मा, सिलोन, दक्षिणी चीन,मलाया, श्रीलङ्का, केनया, युगान्डा, मलेशिया, फिलिपिन्स, थाइलैण्ड, कम्बोडिया, भियतनाम, ब्राजिल, ग्रीष्म अमेरिका, बेस्ट इन्डीज आदि देशहरूमा पाईन्छ ।
रुख कटहर नेपालमा तराईदेखि पहाडसम्म हुने विभिन्न नामले चिनिन्छ, कटहर, रुखकटहर, काँडेफल आदि । संसारका फलहरू मध्ये सबैभन्दा ठूलो फल कटहरको हो । यो फल विशेष गरी तरकारीमा प्रयोग हुने भएकोले धेरै उपयोगी मानिन्छ । यसको गुदी कोया सुगर र भिटामीनहरूको मूख्य श्रोत हो । यसको बीउमा प्रोटीन, कार्वोहाइड्रेट र खनिज तत्वहरू पाइन्छ । यसको फलमा भिटामीन ए र सीको साथै अनैकौ खनिज तत्वहरू पाइन्छ । यसको आर्थिक, सांस्कृतिक तथा धार्मिक महत्त्व रहेकोले पनि उपयोगिता बढेको छ । यी सबै विशेषताहरूले हाल देखा पर्ने खाद्यान्न संकटलाई तथा कुपोषण समस्यालाई समाधान गर्न अति उपयोगी सिद्ध हुने छ ।
यस्को उत्पत्ति भारतको पश्चिमी भेगको वर्षे वनमा भएको मानिन्छ । त्यसपछि भारतको अरु भागमा, दक्षिणी एसिया, इष्ट इन्डीसीज, फिलिपिन्स, मध्य र पूर्वि अफ्रिकामा फैलिदै ब्राजिल र सुरिनाममा प्रसिद्ध भएको हो ।
कटहरका मुख्य ११ फाइदाहरु
शक्तिको स्रोत
कटहर कार्बोहाइड्रेटको राम्रो स्रोत हो । यसमा हुने फ्रुक्टोसले खानेबित्तिकै मानिसलाई तत्कालै शक्ति प्रदान गर्ने गर्छ । पाकेको कटहरको फलमा ९२ प्रतिशत त कार्बोहाइड्रेड नै हुन्छ । एक कप पाकेको कटहरुमा ४० ग्राम कार्बोहाइड्रेड हुने गर्छ, जसले हामीलाई घण्टौंसम्म शक्ति प्रदान गर्न सक्छ ।
थाइराइडको समस्यामा उपयोगी
थाइराइडका समस्या हुनेहरुका लागि कटहरको सेवन उपयोगी मानिन्छ । अरु फलहरुमा जस्तै कटहरमा पनि शरीरका लागि आवश्यक खनिज तत्वहरु पर्याप्त मात्रामा पाइने गर्छ । विशेषतः कटहरुम पाइने तामाले थाइराइडको कार्यलाई सही ढंगले सुचारु गर्न सहयोग गर्छ । यसले थाइराइड हर्मोनहरुलाई नियमित गर्ने काम गर्छ ।
प्रतिरक्षा प्रणाली बलियो बनाउँछ
धेरै जसो फलफूलहरुमा पर्याप्त मात्रामा पाइने भिटामीन सीले मानिसको रोग प्रतिरोधी क्षमता बलियो बनाउने काममा सहयोग गर्छ । कटहरमा मनग्गे मात्रामा पाइने भिटामीन सीका साथै सहजै पच्ने गुलियोले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउने गर्छ । कटहरमा पाइने गुलियोले रोग प्रतिरोधी क्षमतालाई बढी क्रियाशील बनाउने तथा त्यसमा पाइने पोलिस्याकराइड्सले किटाणुविरुद्ध लड्नका लागि इम्युन सिस्टमलाई उत्प्रेरित गर्ने गर्छ ।
रक्तचाप नियन्त्रित गर्छ
शरीरलाई दैनिक रुपमा चाहिने पोटासियमको आवश्यकताका १४ प्रतिशत एक एक कप पाकेको कटहर खाँदा आपूर्ति हुन सक्छ । कटहरमा मनग्गे मात्रामा पाइने पोटासियमले रक्तचापलाई सही अवस्थामा नियन्त्रित राख्न सयोग गर्छ ।
सही पाचन
कटहरमा पर्याप्त मात्रामा खानयोग्य फाइबरहरु हुन्छन् भने त्यसमा पर्याप्त मात्रामा पानी समेत पाइन्छ । यी दुवै चीजहरुले हाम्रो पाचन प्रणालीलाई सही ढंगले काम गर्न सहयोग गर्छ र हामीलाई कब्जियतलगायत पाचनप्रणालीसम्बन्धी समस्याहरुबाट जोगाउँछ ।
आँखाको ज्योति बढाउँछ
कहटरमा फ्लाभोनोइडस् र फेनोल जस्ता एन्टिअक्सिडेन्ट तत्वहरु पर्यापत मात्रामा पाइन्छ । यी तत्वहरुले हाम्रा खराब भएका कोषहरुमा पैदा हुने विकारहरुलाई डिएनए तहमै हटाउने काम गर्छ । अक्सिजन र्याडिकल्सको रुपमा पैदा हुने त्यस्ता विकासहरुले रेटिनाका कोषहरुलाई नोक्सान गर्ने र आँखाका समस्याहरु पैदा गराउने सम्भावना रहन्छ ।
कटहरमा पर्याप्त मात्रामा भिटामीन ए पनि पाइन्छ । १६५ ग्राम कटहरले हाम्रो शरीरलाई दैनिक आवश्यक पर्ने भिटामीन एकको १० प्रतिशत आवश्यकता पूर्ति गरिदिन्छ ।
क्यान्सर प्रतिरोधी क्षमता
कटहरमा पर्याप्त मात्रामा एन्टिअक्सिडेन्ट तत्वहरु पाइने गर्छ । तिनले हाम्रा कोष डीएनएहरुलाई नष्ट हुनबाट जोगाउँछ । स्टार्चयुक्त टाँसिने प्रकृतिको हुनाले पाकेको कटहरको फलले आन्द्रालाई सफा तुल्याउने काम पनि गरिरहेको हुन्छ । र, त्यो क्रियाबाट यसले हामीलाई आन्द्राको क्यान्सर लाग्ने सम्भावनाबाट बचाउने काम पनि गरिरहेको हुन्छ ।
रक्तअल्पताबाट बचाउँछ
खनिजतत्वहरु र भिटामीनहरु पर्याप्त मात्रामा आपूर्ति हुन नपाउँदा रातो रक्तकोष र हेमोग्लोबनबीचको संश्लेषण गर्ने प्रक्रियामा गडबडी पैदा हुन जान्छ, जसले गर्दा हामीलाई रक्तअल्पताको समस्याले सताउने गर्छ । तर कटहरमा खनिज पदार्थहरु तथा भिटामीन ए, सी, इ का साथसाथै फोलिक एडिस, नाइसिन र भिटामीन बी६ पाइन्छ । यसबाहेक, कटहरमा रातो रक्तकोष उत्पादनका लागि आवश्यक म्याग्नेस, म्याग्नेसियम र कपर पनि पाइन्छ । त्यसैले कटहरको नियमित सेवनले हामीलाई रक्तअल्पताको समस्याबाट समेत बचाउने काम गर्छ ।
हड्डी बलियो बनाउँछ
हड्डी बलियो र स्वस्थ रहनको लागि सबैभन्दा आवश्यक तत्व क्याल्सियम हो । त्यो कटहरमा पाइन्छ । एक मुठ्ठी कटहरुमा करिब ५६।१ ग्राम क्याल्सियम हुन्छ । त्यो भनेको हाम्रो दैनिक क्याल्सियम आवश्यकताको करिब ६ प्रतिशत हो । हड्डी कमजोर हुनेहरुका लागि कटहर क्याल्सियम आपूर्तिको राम्रो स्रोत हुन सक्छ ।
छाला स्वस्थ राख्छ
कटहरमा पाइने भिटामीनहरु तथा एन्टिअक्सिडेन्ट तत्वहरुले छाला स्वस्थ र चम्किलो राख्न सहयोग गर्छ ।
शुक्रकीटको संख्या बृद्धि गर्छ
आयुर्वेदिक मान्यताका अनुसार, पाकेको कटहरको सेवनले वीर्यमा शुक्रकीटको संख्या बढ्छ । त्यसका साथसाथै, शुक्रकीटलाई स्वस्थ र बलियो पनि तुल्याउँछ । ज्ञातव्य कुरा के हो भने बलियो र स्वस्थ्य शुक्रकीट हुनुको अर्थ मानिसमा सन्तानोत्पत्तिको गुण र क्षमतामा बृद्धि हुनु पनि हो । चिनियाँ परम्परागत जडीबुटी चिकित्सापद्दतिको मान्यतामा नपुंशकताको समस्या समाधानमा पनि कटहरले काम गर्ने गर्छ । त्यसअनुसार, कटहरले यौन शिथिलता र दुर्बलता हटाउने, मानिसमा कामेच्छा जागृत गराउने काम गर्छ । श्रोत : एजेन्सी