Aamsanchar

झापा र मनाङ अन्तिम आठमा

Author Image
बिहिवार, कार्तिक ४, २०७३

नारायणगढः

football

चितवनको नारायणगढस्थित क्याम्पाचौरमा जारी विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको बुधबार सम्पन्न दुई खेलमा जित हात पार्दै मनाङ मस्र्याङ्दी क्लब र झापा-११ अन्तिम आठमा पुगेका छन् । मनाङ मस्र्याङ्दीले युनाइटेड क्लब सिवान भारतलाई ४-१ र झापाले नेपाल पुलिस क्लबलाई ३-२ गोलले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।

युनाइटेडविरुद्घको खेलको २५ औं मिनेटमा मनाङका ओलावलेले पहिलो गोल गरे । त्यसको दुई मिनेटपछि नै मनाङका विमल बस्नेतले अर्को गोल थपे । मनाङका लागि खेलको ५५ औं मिनेटमा ओलावलेबाट पुनः अर्को गोल गरे भने ८६ औं मिनेटमा साजन महर्जनले गोल थपे । युनाइटेडका लागि खेलको ३९ औं मिनेटमा रञ्जित आलेले एकमात्र गोल गरे ।

टिम कप्तान खेलको ७९ औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि युनाइटेड १० खेलाडीमा सीमित भएको थियो । उक्त खेलमा मनाङ मस्र्याङ्दी क्लबका ओलावले म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । युनाइटेडलाई सहजै जितेको मनाङले क्वार्टरफाइनलमा चितवन-११ सँग प्रतिस्पर्धा गर्नेछ । कात्तिक १ गते भएको उद्घाटन खेलमा हिमालयन युथ क्लब कैलालीलाई हराउँदै चितवन-११ क्वार्टरफाइनलमा प्रवेश गरेको थियो ।

झापा र नेपाल पुलिस क्लबबीच भएको दोस्रो खेलको २५ औं मिनेटमा झापाका विकास राईले पेनाल्टीको सदुपयोग गर्दै पहिलो गोल गरे । ४४ औं मिनेटमा पुलिसका लागि निरजकुमार राईले गोल गर्दै खेल १-१ को बराबरीमा पुर्‍याए । झापाका लागि ५९ औं मिनेटमा प्रशान्त मगर र ६६ औं मिनेटमा विकास लिम्बूले पनि एकएक गोल थपे । ७६ औं मिनेटमा पुलिसका जुमानु राईले गोल गरे पनि नतिजा झापाकै पक्षमा गयो ।

झापाको लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका विकास लिम्बू म्यान अफ दि म्याच बने । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । दोस्रो हाफमा आक्रामक देखिएको विभागीय टिम पुलिसको प्रयास जितका लागि पर्याप्त भएन । अर्को विभागीय टिम सशस्त्र प्रहरी क्लबले मंगलबारको खेलमा सहारा क्लबसँग हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो । प्रतियोगितामा बाई पाउने एकमात्र टिम त्रिभुवन आर्मी क्लब भने सिधै अन्तिम आठमा पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)

सम्बन्धित खबर