दुई टुक्रा जमिन, दुई तोला सुन अनि दुई हल गोरुहरू जस्ता थुप्रै भौतिक सम्पत्तिका अवयव मान्दै नेपाली समाज वर्षौबदेखि बढिरहेकै थियोे । त्यसो त, विश्व पनि त्यसैगरी अघि बढेको हो ।
मरिचका दानादेखि सिमानाका जमिनका रेखाका लागि विश्वमा अनेकन युद्ध पनि भएकै हुन् । अझै हुन सक्ने सम्भावना उत्तिकै छन् । हाम्रै समाजमा पनि गोरुले धान खाएको अनि बाख्राले बिस्कुन खाएकासम्म घटना र झगडाहरूमा आ–आफ्ना सम्पत्ति र सामानको रक्षार्थ भएका तर्क र परिवेश बुझ्न सकिन्छ ।
सम्पत्तिको परिभाषा अब भौतिक सवालमा मात्र पनि कहाँ रह्यो र ? अब त शब्द, सञ्चार अनि अन्य विभिन्न बौद्धिक तत्वहरू झनै प्रखर सम्पत्तिका रूपमा तुलना हुन र जोखिन थालेका छन् ।
अब कविका कविताले पनि उत्तिकै मूल्य बोक्छन् । जति हलियाका हलीले बोक्ने गर्दथे । गीतकारको गीत, पंक्तिकारको पंक्ति, गायकको आवाज, संगीतकारको रचना, खानेकुराको परिकारको रेसिपीदेखि मसलाको मिश्रणसम्म सर्जकका सम्पत्ति हुन् ।
व्यापारको ट्रेडमार्क, विज्ञापनको तवरदेखि प्रविधिगत नवप्रर्वतनसम्म पनि बौद्धिक सम्पत्ति हुन् । १९औं शताव्दीको अन्तसम्म विश्वमा बौद्धिक सम्पत्तिको अधिकारका सवाल भनिएपनि २०औ शताव्दी बौद्धिक सम्पत्ति अधिकारको शताव्दी भएको छ ।
द्धिक विचार लगायतका अन्य कुराहरूको उत्पादकत्वमा उत्प्रेरणा गर्न यस अवधारणा ल्याएको बताइन्छ । सामान्य रूपमा भन्दा अब सम्पत्ति कमाउन पसिना अनि दिमाग दुवैको उत्तिकै प्रयोग भनेर बुझ्न सकिन्छ ।
उदहारणका लागि कसैले हावाबाट चल्न मिल्ने गाडी बनायो भने त्यो गाडी अनि उत्पादनका उपाय र प्रविधिहरू उसका बौद्धिक सम्पत्ति हुन् । निश्चित समयसम्म उसको यस नवप्रवर्तनमा आर्थिक अधिकार रहन्छ र अन्य कसैले यसै उत्पादन या कुनै तवरमा प्रयोग चाहे उसँग इजाजत लिनुपर्ने हुन्छ । यो कुरा अन्य हरेक बौद्धिक उत्पादन अनि खोजमा लागू हुन्छ ।
हरेक वर्षको अप्रिल २६ तारिखका दिन विश्व समुदायले विश्व बौद्धिक सम्पत्ति दिवस मनाउने गर्छ । यो वर्षको बौद्धिक सम्पत्ति दिवसको सबैमा शुभकामना । हामीले कहिले काहिँ सुनेका पनि छौं कि कसैको चलचित्रमा कसैको गीतको सानो अंश प्रयोग भएकामा मुद्दा दायर हुँदै झमेलामा परेका घटना सुनाएकै हौ । यी सबै विषय बौद्धिक सम्पत्ति अधिकारमा पर्छ । सर्जकको अनुमतिविना केही तथ्य या सामग्रीहरू अरुले प्रयोग गर्न पाइन्न ।
दिमागको सिर्जनामा सर्जकको मौलिकता र व्यवसायिकता दुवै हुन्छ । त्यसको संरक्षणको संस्थागत अभ्यास नै आजको दिनमा चर्चा गरिन्छ । यतिखेर डिजिटल युगमा त झन् विचार अनि बौद्धिकताको विश्वव्यापी एकै धारमा बाढी झैं आएको छ । बौद्धिक अधिकारको संरक्षणविना त सर्जकको सिर्जनाको मूल्य नै रहन सक्ने अवस्था छैन । हामीले सुन्ने गीतदेखि ‘कपी–पेस्ट’ गर्ने विचार अनि भनाइहरू ती सर्जकका सम्पत्ति हुन् ।
सन् २०२१ को बौद्धिक सम्पत्ति दिवसको नाराले साना व्यवसायहरूको बौद्धिक सम्पत्तिहरूको अधिकारलाई केन्द्रमा राखेको छ । कोरोनापछिको विश्वमा थप महत्वपूर्ण भएका साना तथा मझौला व्यवसायहरूको बौद्धिक सम्पत्तिको रक्षाको महत्वलाई यस वर्षले प्रकाश पारेको हो ।
कथाकारले कथा लेखेरै खान पाउन् । उनका कथा अनि चरित्रहरू नचोरिउन् । कविले कवितामै जीवन पाउन अनि उनका कवितामा उनैको मात्र अधिकार रहोस् । अनि हरेक सर्जकले आ–आफ्नो सिर्जनाको मूल्य पाउन् । सर्जक र सिर्जना दुवैको सम्मान होस् । व्यापार, समाज अनि प्रविधि सर्वज्ञ बौद्धिक सम्पत्तिको रक्षा हुने वातावरण रहोस् ।