Aamsanchar

पूर्वी नाका काँकडभिट्टामा स्वदेश फर्किनेहरूको भीड, छैन होल्डिङ सेन्टरको व्यवस्था

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

झापा- पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोभिड–१९ का शंकास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन। भारतमा कोरोना भाइरसको संक्रमण तीव्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरूको नाकामा भीड लाग्न थालेको छ। अहिले नाका भित्रिनेहरुलाई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र संघीय सरकारको सरोकारको विषय भएको बताए। उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिए।

भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेसनसम्मै पुर्‍याउने गरिएको उनले बताए। गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो। विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष ललित तामाङले बताए। उनले नाकामा गत वर्षको झैं होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको बताउँदै क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको औंलाए। जिल्लामा हालसम्म संक्रमितको संख्या ४ हजार ८१९, डिस्चार्ज ४ हजार ५१९, आइसोलेसनमा १६९ जना र मृत्यु हुनेको संख्या १३१ जना पुगेको छ।

बार एसोसिएशनको आग्रह

यसैबीच नेपाल बार एशोसिएसनले कोभिड–१९ को महामारी बढ्दै गएकोप्रति चिन्ता जनाउँदै सरकारी कार्यालयहरुमा भीडभाड नियन्त्रण गर्न ध्यानाकर्षण गराएको छ। बार एशोसिएसन तथा सोही मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षाप्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने विज्ञप्तिीमा उल्लेख छ।

सीमा नाकामा हुने आवतजावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न बार एशोसिएसले आग्रह गरेको छ। विज्ञाप्तिमा आपतकालीन रुपमा आवश्यक पर्ने अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामग्रीहरु समेतको प्रवन्ध र व्यवस्थापन गर्न माग गरिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 171

प्रतिक्रिया (०)