Aamsanchar

चीनले नेपाललाई कोरोना रोकथाम र नियन्त्रणका पचास लाख युआन बराबरको सामग्री सहयोग गर्ने

Author Image
बुधवार, वैशाख १५, २०७८

काठमाडौँ — चीनले नेपाललाई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि ५ मिलियन आरएमबी (करिब ९१ करोड ९१ लाख ९२ हजार रुपैयाँ) बराबरको सामग्री सहयोग गर्ने प्रतिबद्धता गरेको छ । परराष्ट्र मन्त्रालयका अनुसार चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले भिडियो कन्फरेन्समा सहयोगको प्रतिबद्धता जनाएका हुन् । नेपाललाई अहिले सबैभन्दा बढी आवश्यक परेको कोभिड–१९ विरुद्धको खोपमा चीनले सहयोग गर्ने/नगर्ने विषयमा कुनै प्रतिबद्धता आएको छैन । चीनले यसअघि नेपाललाई ८ लाख डोज सिनोफार्म खोप सहयोग गरेको थियो ।

चीनले मंगलबार फेरि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का मुलुकहरूलाई समेटेर ‘कोभिड–१९ को प्रतिकार्यका लागि संयुक्त प्रयास’ नामक भिडियो कन्फरेन्स गरेको थियो । जसमा फेरि पनि भारतलाई नसमेटी अफगानिस्तान, बंगलादेश, चीन, नेपाल, पाकिस्तान र श्रीलंकालाई सामेल हुने गरी उक्त कन्फरेन्स गरिएको हो । चीनका विदेशमन्त्री वाङको नेतृत्वमा भएको उक्त कन्फरेन्समा सार्कका सदस्यमध्ये भारत, भुटान र माल्दिभ्स मात्र सहभागी थिएनन् ।

चीनले यसअघि पनि सन् २०२० जुलाई २७ मा वाङकै नेतृत्वमा कोभिड–१९ मा क्षेत्रीय सहकार्य गर्ने भन्दै भारतलाई छाडेर नेपाल, पाकिस्तान, अफगानिस्तान र आफू सम्मिलित भिडियो कन्फरेन्स गरेको थियो । उक्त कन्फरेन्सलाई चीनले यो क्षेत्रमा भारतलाई एक्लाउने योजना बनाएको आरोपसमेत लागेको थियो । केही विदेश सञ्चारमाध्यमले उक्त बैठकलाई ‘हिमालयन क्वाड’ को संज्ञासमेत दिएका थिए । जसलाई चीनले नकार्दै आइरहेको छ । मंगलबारको कन्फरेन्समा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ विरुद्ध प्रतिकार्य र आर्थिक पुनरुत्थान गर्न क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य हुनुपर्नेमा जोड दिएका थिए ।

रुसी खोप जीटुजी प्रक्रियाबाट ल्याउने तयारी

सरकारले ५० लाख डोज रुसी खोप ‘स्पुतनिक–५’ ल्याउने तयारी गरेको छ । सरकार–सरकार ९जीटुजी० प्रक्रियाबाट खोप ल्याउने विषयमा बुधबार टुंगो लाग्ने सम्भावना छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, रुसबाट आएको एक टोली र नेपालस्थित रुसी राजदूतावासबीच बुधबार छलफल हुँदै छ । खोप कति संख्यामा, कति मूल्यमा र कहिले आइपुग्नेलगायतका विषयमा छलफल हुने स्रोतले जनाएको छ ।

औषधि व्यवस्था विभागले वैशाख ७ गते आपत्कालीन प्रयोगका लागि रुसी खोपलाई स्वीकृति दिइसकेको छ । उक्त खोप नेपालमा आयात गर्न लोमस फर्मास्युटिकल्सले अनुमति पाएको छ । सरकारले भने जीटुजी प्रक्रियाबाटै खोप ल्याउने तयारी गरेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)