पथरी,
मोरङको प्रथम साधारण–सभाबाट कार्यसमिति सदस्यका रूपमा सूर्योदय टेलिभिजनका कार्यक्रम प्रस्तोता एंवम पत्रकार सागर गौतम चयन भएका छन् ।
झापाको खुदुनाबारी–७ निवासी पत्रकार गौतम वडादशैं, महाअष्ठमी पर्व आश्विन २३ गते सम्पन्न पहिलो साधारण–सभाबाट प्रतिष्ठानको कार्यकारी केन्द्रीय सदस्यको रूपमा चयन भएका हुन् ।
प्रतिष्ठानको अध्यक्षमा आमभेलाबाट चयनित कमला दाहाल बास्कोटा नै पूनः अर्को यस कार्यकालका लागि अध्यक्षतामा निर्वाचित भएकी छिन् । तदनुरूप श्रीमती बास्कोटाको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन भएको छ ।
यसमा क्रमशः उपाध्यक्ष शारदा सुवेदी, सचिव कृष्ण प्रसाद कोइराला, कोषाध्यक्ष शिला दङ्गाल रहेका छन् भने सदस्यहरूमा नारायण प्रसाद कोइराला, विष्णुलाल गौतम, कुलप्रसाद दाहाल, उर्मिला थापा, हरि सुवेदी, शान्ता निरौला रहेका छन् । निर्वाचित कार्यसमितिले पदस्थापन गर्ने गरी सहसचिवको जिम्मेवारीबोधलाई हाल रिक्त राखेको छ ।
साधारण–सभामा प्रयुक्त निर्वाचन विधि अन्तरगत समावेशीय सिद्धान्त अवलम्बन गरेको अध्यक्ष कमला दाहाल बास्कोटाले आमसञ्चारलाई बताइन । युवराज बास्कोटा ‘यज्ञ’, तुलसा बास्कोटा सुवेदी, हरिवंश सुवेदी रहेको निर्वाचन मण्डलले उक्त कार्यसमिति करतलध्वनीका बीच सर्वसम्मतिबाट चयन गरेको थियो । कार्यक्रम पथरीशनिश्चरे वडा नं –८ मितेरी मार्ग, आदर्श टोलस्थित बास्कोटा निवासमा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा सयौं स्थानीयबासी सहित बहुसंख्यक क्रियाशील सदस्यहरूको उपस्थिति रहेको जनाइएको छ । प्रतिष्ठान अध्यक्ष कमला दाहाल बास्कोटाले प्रस्तुत गरेको कार्यपत्रमा संस्थाको नाममा अस्पताल निर्माण गर्ने, यसका लागि छुट्टै जमिन खरिद गर्ने, भवन निर्माण प्रयोजन अघि बढाउने, स्थानीय रूपमा इन्द्र–कमलका नाऊमा पाटी–पौवा र मठ–मन्दिर निर्माण गर्ने र अनुकूल स्थानहरूमा वृक्षारोपण गर्नेलगायतका सामाजिक जीवनका महत्वसँग जोडिएका सिर्जनात्मक कार्यहरू गर्ने जनाइएको छ । कार्यक्रममा एमालेका प्रभावशाली युवानेता युवराज बास्कोटा ‘यज्ञ’, समाजसेवी लिलानाथ बास्कोटा, कृष्णप्रसाद कोइराला, उर्मिला थापा, नरबहादुर खोकरेल, रूद्रप्रसाद बास्कोटा, विष्णुलाल गौतमलगायत व्यक्तित्वहरूले संस्था निर्माण र विकासका सन्दर्भमा अवधारणाहरू राखेका थिए ।
पहिलो यही साधारणाको एकमतले संस्थाको नाम इन्द्र–कमल बास्कोटा प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङ नाम रहेकोमा यसलाई संसोधन गरी इन्द्र–कमल प्रतिष्ठान, पथरीशनिश्चरे, मोरङ मात्र रहने व्यवस्था मिलाउन कार्यसमितिलाई जिम्मा दिएको कुरा जनाइएको छ । संस्थाको वैधानिक क्रियाशिलतालाई सहयोग पुर्याउने उद्देश्यले भारतीय राजदूताबास, काठमाण्डौंले आफ्नो ७० औं स्वतन्त्रता दिवस–१५ अगस्तको अवसरमा एउटा वातानुकूलित एम्बुलेन्स प्रदान गरेको र सो बाहन केही दिनमा सञ्चालनमा ल्याइने पत्रकार सागर गौतमले बताए ।
स्थानीय रूपमा स्वास्थ्य जागरण शिविर सञ्चालन गर्ने र २०७३ फागुनभित्रमा संस्थाको नाममा एउटा शव–बाहन समेत ल्याउने तयारीमा प्रतिष्ठान जुटिरहेको उपाध्यक्ष सुवेदीले बताइन् । सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा कमलप्रसाद बास्कोटा र इन्द्रमाया बास्कोटा रहनु भएको थियो भने कार्यक्रमको सञ्चालन पत्रकार सागर गौतम र स्वागत शिला दगालले गरेका थिए ।