Aamsanchar

मोरङमा काठमाडौं उपत्यका पछि सबै भन्दा धेरै कोरोना संक्रमित, हिमाली क्षेत्रमा सामान्य

Author Image
सोमवार, वैशाख २०, २०७८

काठमाडौं- अन्य क्षेत्रमा भन्दा हिमाली क्षेत्रमा कोरोना भाईरस(कोभिड १९) संक्रमण न्यून रहेको तथ्याङ्कले देखाएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार हालसम्म हिमाली क्षेत्रमा कोरोना संक्रमण सामान्य मात्र रहेको पाइएको हो । मनाङमा हालसम्म १८ जनामा मात्र कोरोना भाइरस (कोभिड १९) संक्रमित छन् । अन्य हिमाली जिल्लाहरु मध्ये मुस्ताङ ४९, डोल्पा ६५, मुगु ४५ र हुम्ला ५२ ताप्लेजुङ २०८, संखुवासभा ४४२, सोलुखुम्बु २२८, दोलखा ८६७, सिन्धुपाल्चोक एक हजार २२५, रसुवा २९७ र गोरखामा एक हजार ८३४, रहेको मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

अन्य तराईका जिल्लाहरुको तुलनामा भने हिमाली जिल्लामा संक्रमणको ग्राफ न्यून रहनुमा जनघनत्व कम हुनु, सरसफाइ र फोहोर कम हुनुनै मुख्य भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका कन्सल्टेन्ट प्यथोलोजिष्ट डा।शंकर काफ्लेले बताउनुभयो । तराई क्षेत्रमा भने हिमाली क्षेत्रको तुलनामा पाँच सय प्रतिशत भन्दा बढी संक्रमित भएको पाइएको छ । तराई क्षेत्रमा बढी गर्मी र भीड हुने गर्नाले हिमाली क्षेत्रमा भन्दा बढी संक्रमित हुने गरेको काफ्लेले बताउनुभयो । भीडसँगै स्वास्थ्य मापदण्ड पालना गर्न नसक्नु पनि संक्रमणको अर्को कारण भएको भन्दै यसमा बढी सावधान अपनाउन उहाँले सुझाव दिनुभयो ।

काठमाडौं उपत्यका पछि मोरङमा सबै भन्दा धेरै संक्रमित छन्, मोरङमा १४ हजार ८३९, सुनसुरी ९ हजार ७८०, चितवन ९ हजार ८००, रुपन्देही १४ हजार ३४, बाँके १० हजार ७२१ र कैलाली ७ हजार ६२४ संक्रमित छन् । सरकारले तीव्र गतिमा संक्रमणको दर बढेको भन्दै एक साताका लागि बैसाख १६ गते देखि निषेधज्ञा लागु गरेको छ । संक्रमणको दर कम गर्न कोभिड १९ संक्रमण व्यवस्थापन केन्द्र (सिसिएमसी)ले सरकारसँग सिफारिस गरेको छ । हालसम्म नेपालमा कोरोना भाइरसबाट तीन लाख ३६ हजार ३० जना संक्रमित छन भने तीन हजार ३२५ जनाको मृत्यु भई सकेको छ ।

Views: 264

प्रतिक्रिया (०)

सम्बन्धित खबर