Aamsanchar

प्रदेश १ सरकारमा २ हजार १ सय बेड थप्न (सीसीएमसी) लाई सिफारिस

Author Image
बिहिवार, वैशाख ३०, २०७८

बिराटनगर । कोभिड–१९ संक्रमण दर उच्च भएसँगै संक्रमितको उपचार गर्न प्रदेश १ सरकारले २ हजार १ सय बेड थप्नका लागि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेशभरका ठूला अस्पतालहरुमा बेड थप्ने गरी सिफारिस गरिएको हो ।

मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले तत्काल ठूला अस्पतालमा बेड विस्तारका लागि सीसीएमसीलाई सिफारिस निर्णय गरेको सामाजिक विकास मन्त्री उषाकला राईले जानकारी दिइन् । उनले निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारले आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि प्रदेशस्तरीय कोरोना भाइरस सङ्कट व्यवस्थापन समिति (पिसिसिएमसी)ले प्रस्ताव केन्द्र समक्ष पठाउने निर्णय गरेको बताइन् ।

बैठकले वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर, नोवल मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगर वी।एण्ड सी। अस्पताल, बिर्तामोडमा कम्तिमा ५००-५०० वेड क्षमताको तथा न्यूरो, कार्डियो तथा मल्टी स्पेसियालिटिज अस्पताललाई १०० वेड क्षमताको कोभिड डेडिकेटेड अस्पताल संचालनका लागि आवश्यक सहयोग, समन्वय र अनुमतिका लागि पि।सी।सी।एम।सी।बाट सीसीएमसी समक्ष प्रस्ताव पठाएको पनि उनको भनाइ छ ।

त्यसैगरी निजी अस्पतालहरुलाई कोभिड उपचारमा दिइँदै आएको अनुदान रकम सम्बन्धमा अझ स्पष्ट बनाई थप अनुदान रकम उपलव्ध गराउनका लागिसमेत अनुरोध गरिएको छ । बैठकमा विराटनगर महानगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारीहरु, सुरक्षा निकायका प्रमुख, निजी तथा सरकारी अस्पतालका सञ्चालकलगायतका सरोकारवालाको उपस्थिति थियो ।

हाल प्रदेश १ मा सञ्चालित १ हजार ९४ बेड क्षमताका ९ वटै कोभिड बिशेष अस्पतालमा ७ सय ६२ जना उपचाररत छन्।

Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर