मेलम्ची ।
रङ्गकर्मी एवम् मेरी बास्सैका हास्यव्यङ्ग्य कलाकार धिताल चिरिच्याँट्टको दोस्रो साङ्गीतिक गीति कोसेली ‘मलाई छ चर्को’को अडियो बजारमा आएको छ ।
‘बाउले भन्छन् मलेसिया जा’ भन्ने गीतको अपार सफलतापछि धेरै श्रोताको मन जित्न सफल धितालको अर्को गीति कोसेली सार्वजनिक भएको हो । देशमा भएको बेतिथि र देशमा सिस्टम नभएको कारण युवाले भोग्नु परेको समस्या यस गीतको प्रमुख विषयका रुपमा रहेको छ । गीतको परिकल्पनाको क्षणलाई धितालले थपे । हामी सबैले मिहेनत गर्नेलाई देशमै छ भनेर भन्छौँ यो ठीक पनि हो तर देशमा गरेको हरेक दुःख र लगानी डुब्ने, नाश हुने भयो भने फेरि ऋण गरेर परदेशी भूमिमा पसिना बगाउनुको विकल्प नरहेको उनी बताउँछन् ।
धितालको परिकल्पनालाई शब्दमा नवराज गजुरेलले उतारेका हुन् भने सङ्गीत संयोजन बाबुल गिरीले गरेका हुन् । परिकल्पना लय स्वर धितालको रहेको गीतको चाँडै म्युजिक भिडियो पनि बजारमा आउने धितालले जानकारी दिनुभयो ।