Aamsanchar

राष्ट्रपतिज्यु मध्यवधि निर्वाचन होइन्, जनता अक्सिजन, भेन्टिलेटर, आइसियू र अस्पतालमा वेड खोजीरहेका छन्

Author Image
शनिवार, जेठ ८, २०७८

शुक्रबार मध्यरातबाट पुस ५ फेरि फर्काइएको छ । राष्ट्रपति विद्यादेवि भण्डारीले झण्डै २ बजेको समयमा संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकि छन् । यसअघि गएको पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारीसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको घोषणा गरेकी थिईन् । र, २०७८ सालको बैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचनको घोषणा गरीन् । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा विघटनविरुद्ध परेका १३ रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले अन्तिम फैसला सुनाउदै संसद विघटन गर्ने सरकारको निर्णय फागुन ११ गते बदर गर्यो । अनि प्रतिनिधिसभा पुनःस्थापना भयो ।

तर,२०७८ बैशाख ७ गते मध्यरातमा तिनै राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटनको घाषणा गरेर प्रतिनिधिसभा सदस्यका लागि चुनाव कात्तिक २६ र मंसिर ३ गते गरी दुई चरणमा गर्न मिती समेत तोकिन् । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी हुन् । अनि २०७८ सालको जेठ ७ गतेको मध्यरातबाट २०७७ सालको पुस ५ गते फेरि फर्काइएको छ , वा अब मुलुक ५ पुसकै अवस्थामा फर्किएको छ । पुस ५ मा दिउँसो संसद् भंग गरिएको थियो । यसपटक भने मध्यरातमा भयो ।

मध्यरातमा बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा ७६(७) अनुसार प्रतिनिधिसभा भंग गरी मध्यावधि घोषणा गर्न राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गर्यो । मन्त्रिपरिषद् बैठकका लागि मन्त्रीहरुलाई साँझ सात बजे नै बोलाइएको भए पनि राष्ट्रपति कार्यालयको वक्तव्य कुर्दा मध्यरात भएको थियो । निर्णय गर्दा रातको १ बजेको समाचार प्रकाशन र प्रशारण भएका छन् ।

नेपालको संविधान २०७२ को धारा ७६(७) मा भनिएको छ, उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी ६ महीनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुने गरी निर्वाचनको मिति तोक्नेछ । राष्ट्रपतिले पनि त्यही गरिन् । अहिले मुलुक कोभिड १९ का कारण थला परेको छ । महामारी नियन्त्रण र रोकथामका लागि भन्दैं सरकारले निषेधाज्ञ जारी गर्दा जनजीवन नै ठप्प मात्रै छैन् धेरैको रोजगारी समेत गुमेको अवस्था छ । यस्तो अवस्थामा न सरकार,सत्ताधारी पार्टी न प्रमुख प्रतिपक्षी दल र अन्य प्रतिपक्ष दलहरु नै नेपाली जनताको जीउ बचाउनतर्फ केन्द्रित छन् । यस्तो वेला कोभिड १९ का कारण अस्पतालमा जीवनमरणसँग पौठेजोरी खेलीरहेका नेपाली जनताको आवाजका लागि र उनीहरुको समस्या सम्बोधन सहजरुपमा कसरी अक्सिजन, भेन्टिलेटर, आइसियू र अस्पतालमा वेड उपलब्ध गराउनेतर्फ संसद् सञ्चालनमा कसैको ध्यान छैन् ।

बरु विश्वासको मत लिएर पुनःकुर्सीमा पुग्न विशेष अधिवेशन डाकिन्छ । मुलुक कोभिड १९ को महामारीले आक्रान्त बनिरहेका बेला प्रधानमन्त्री खड्गप्रसाद ओलीले २७ वैशाखमा विश्वासको मत लिने प्रयोजनका निम्ति विशेष अधिवेशन बोलाउने सिफारिश गरे । राष्ट्रपतिले पनि बोलाइदिइन् । हे मेरो देशको सरकार कम से कम अहिले सत्ता र कुर्सीका लागि लड्न छाडेर कोभिडको महामारीबाट जनतालाई बचाउँनतर्फ लाग्नु पर्ने होइन ? अहिले देश महामारीले थलिएका बखत यो देशका प्रधानमन्त्री खड्गप्रसाद ओली प्रतिनिधिसभा विघटनदेखि विश्वासको मत लिने भन्दैं आफूले गरेका सवै कदम नेपाली जनताको हितमा छन् भनेर लामो फेरिस्ता सुनाउदैं मुसुमुसु हास्दैं रमाउदैं छन् । अझ भन्ने हो भने अहिले यो देशका आफुलाई ठूला भन्ने राजनीतिक दलहरु सत्ताको खेलमा लागिरहेकाछन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई प्रधानमन्त्रीको कुर्सी कसरी जोगाउँ भन्ने चिन्ता छ भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति पुर्व प्रधानमन्त्री शेरबहादुर देउवा त्यो कुर्सीमा कसरी पुगैं भन्ने ध्याउन्नमा छन् । वा वर्तमान र पुर्व दुवैजना प्रधानमन्त्रीको ध्यान कुर्सीमा कस्ले कब्जा जमाउन सकिन्छ भन्नेमा मात्र केन्द्रित छ भन्दा खासै अत्यूक्ति हुदैंन् । अन्य दलका नेताहरु आफ्नो भागमा कुन मन्त्रालय पर्ने हो भने चिन्ता र पर्खाइमा छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदहरुको समर्थन रहेको भन्दै प्रधानमन्त्रीमा दाबी गरीरहदाँ, प्रधानमन्त्री खड्गप्रसाद ओलीले पनि आफूलाई १ सय ५३ सांसदको समर्थन रहेको दाबी गरे । दुवै जना प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुन पाउ र सत्ताको बागडोर आफैले सम्हाल्न पाउने दावी भइरहदाँ कोभिड १९ को संक्रमणका कारण कोभिड १९ का विरामी अस्पतालमा अक्सिजन नपाएर छटपटाउँदैं बाँध्य भएर मृत्युवरण गरिरहेका थिए । त्यतिमात्र होइन मरेर पनि उनीहरुले सुख पाएका छैनन् । दाहासंस्कार गर्न समेत उनीहरुका परिवारलाई आर्थिक समस्या छ । कतिले अस्पतालमा उपचारका क्रममा लागेको खर्च तिर्न नसकेर शव निकाल्न पाएका छैनन् ।

त्यस्तो परिस्थितीमा यो देशको राष्ट्रप्रमुख, प्रधानमन्त्री, सरकार, प्रमुख प्रतिपक्ष दल, अन्य राजनीतिक दलका नेताहरुलाई प्रश्न गर्न मन लाग्छ के तिमीहरुको हिर्दय ढुङ्गा भन्दा पनि साहो र कठोर छ ? अलिकति पनि मानवीय दया छैन् ? कठैवरा तिमीहरुको मन ? कम से कम राष्ट्रपतिले अहिले सरकार र अन्य दलहरुलाई अहिलेको अवस्था सरकार र सत्ताका लागि होइन जनताको जीवन बचाउनेतर्फ हो र त्यसतर्फ केन्द्रित हुनुपर्छ भनेर भन्न किन नसकेको होला ? बरु राष्ट्रपति दुबैको दाबी नपुगेको निष्कर्षसहित संसद विघटन गरेर चुनावको मिति घोषणा गर्छिन । उनीप्रति पनि दया जागेर आउछ ।

सम्माननीय राष्ट्रपति ज्यु, यहाँलाई थाहा नभएको र यहाँका मान्छेले समेत थाहा नदिएको एउटा कुरा प्रेसित गदैंछु । यति कुरा बुझाईदिए पनि पुग्छ वर्तमान अवस्थामा सत्तापक्ष होस चाहे प्रतिपक्ष तिनका नेता जनताको जीउधन बचाउन केन्द्रित हुनुपर्छ, अहिले सम्वेदनहिन तरीकाले कुर्सी र सत्ताको लडाइमा घमासान गरी लड्नु हुदैंन । कृपया यो लेख पढेर कम से कम त्यता लाग्न सवैलाई आग्रह गरिदिनुहोस । जनता बाचे चुनाव गरौला । फेरि भोट हाल्छन् चुनाव जिताईदिन्छन् ,नेता बनाइदिन्छन् । यहाँ नै पुनः राष्ट्रपति बन्नुहोला । अहिले अक्सिजन नपाएर कोभिडका विरामी अस्पतालमा छटपटाईरहेका छन् । उपचार नपाएरै छटपटाउदैं अकालमै मृत्युबरण गर्नुपर्ने अवस्था छ, अस्पतालमा अक्सिजनको अभाव कम भएको छैन्, अस्पतालमा वेड, आइसियू , एचडियू, भेन्टिलेटरका लागि गम्भीर विरामीले नै महिनौं महिनादिनसम्म पर्खनुपर्ने अवस्था छ, संक्रमणदर दैनिक बढिरहेको छ, धेरैको रोजगारी गुमेको छ । तर, यस्तो अत्यास लाग्दो परिस्थिती न यो देशको सरकारले देख्यो, न सत्ताधारी पार्टीले नै , न प्रमुख प्रतिपक्षी दलले देख्यो न अन्य दलले नै ।

कम से कम यहाँ त यो मुलुकको अभिभावक हो । देशका आम नागरिकलाई अभिभावक विहिन नबनाइदिनुहोस । यो देशको सरकार,सत्ताधारी पार्टी , प्रमुख प्रतिपक्षी दल र अन्य दललाई भन्दिनुहोस अहिले सवै संयन्त्र कोभिड १९ नियन्त्रण र रोकथाममा परिचालन गर्न लाग्नुहोस । यो मुलुकका जनताले अस्पतालमा वेड, अक्सिजन, आइसियू,भेन्टिलेटर र उपचारको अभावमा मृत्युवरण गर्न बाँध्य पारिनुहुदैंन् । कहि कसैको आखाँ खुल्छन कि ? कानमा कसैको बतास लाग्ला कि ?

अहिले प्रधानमन्त्रीको ध्यान मध्यवधि निर्वाचनमा छ । अथवा अहिले भइरहेका राजनीतिक गतिविधि संक्रमण नियन्त्रणको मुख्यः चुनौती बनेका छन भनेर संक्रमक रोग विशेषज्ञहरुले बताइरहदा त्यसलाई टाउँकाको मोल बनाइएको छ । कोभिड १९ कै कारण वितेको १० दिनमा औसतमा दैनिक २ सय व्यक्तिले ज्यान गुमाउदैछन् । नेपालमा कोभिड १९ कै कारण गतवर्ष २ जेठमा पहिलो व्यक्तिको मृत्यु भएको थियो । त्यसपछि २०७७ को चैत मसान्तसम्ममा ३ हजार ५८ जनाको ज्यान गयो । २०७८ को बैशाख शुरुभए यता ३७ दिनमा ३ हजारले मृत्युवरण गरीसकेका छन् । महामारी कति भयावह भन्ने कुरा यहि सरकारी तथ्याङ्क पर्याप्त छ । दैनिक ८ देखि १० हजार विरामी थपिरहेका छन् । उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था छ । यसकारण राष्ट्रपति ज्यु नेपाली जनताले अहिले मध्यवधि निर्वाचन होइन्,

अक्सिजन, भेन्टिलेटर, आइसियू र अस्पतालमा वेड खोजीरहेका छन् । अन्त्यमा हजुरको जो मर्जी

(लेखक उप्रेती सुर्याेदय टेलिभिजनका कार्यक्रम प्रस्तोता हुन्)

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 311

प्रतिक्रिया (०)

सम्बन्धित खबर