विराटनगर – प्रदेश नम्बर–१ का प्रमुख विपक्षी दलले संविधानसम्मत ढंगले बजेट ल्याउने वातावरण बनाउन भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराएका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेससहित तीन दलले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’सँग आइतबार भेट गरी बजेटबारे ध्यानाकर्षण गराएका हुन् ।
प्रदेश सरकारले कोरोनो बहाना बनाएर प्रदेशको बजेट अधिवेशन बोलाउन आलटाल गर्दै पूर्वबजेट छलफलसमत नगर्ने र अध्यादेशबाट बजेट ल्याउने तयारी थालेसँगै विपक्षी दलले प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको जनाएका छन् । कांग्रेसका नेता राजीव कोइरालाले संविधान र प्रदेश कानुनमा उल्लेख भएअनुसार असार १ गते प्रस्तुत हुने बजेटअगावै सरकारले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र बजेटमाथि पूर्वछलफल गराउनुपर्ने भएकोले बजेट अधिवेशन डाक्न आग्रह गरे । “प्रक्रियागत ढंगले बजेट आउनुपर्छ भन्ने हाम्रो माग हो,” उनले भने ।
कांग्रेस प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखको जिम्मेवारी संविधानको पालना गराउने भएकोले प्रदेशको बजेट असार १ गते प्रदेशसभाबाटै प्रस्तुत हुनुपर्ने बताउँदै आर्थिक नियमावलीअनुसार पूर्वबजेट छलफल नगराई गराउन नमिल्ने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गराए । उनले भने, “यसबारे प्रदेश प्रमुखबारे ध्यानाकर्षण गराउन चाहन्छौँ । प्रदेशको अभिभावकको नाताले पनि प्रदेश प्रमुख कुनै एक दलको मात्र नभई सबै दल र समग्र जनताको प्रतिनिधि हुनुहुन्छ भन्ने हाम्रो विश्वास छ ।”
कार्कीले कोरोना संकटका बेला समस्यामा परेका नागरिकको उपचार निःशुल्क हुनुपर्नेमा प्रदेश सरकार हराएको भन्ने नागरिकस्तरमा सन्देश गएको बताए । विपक्षी दलहरु प्रक्रियागत ढंगले अघि बढेको भन्दै पहिले सरकारलाई ध्यानाकर्षण गराएको तर योपटक प्रदेश प्रमुखसमक्ष आएको कार्कीले सुनाए ।
नेकपाका (माओवादी केन्द्र)का सांसद विजय विश्वासले बजेट सदनबाट आउनुपर्ने आफूहरुको माग रहेको बताउँदै भने, “तर, हामीले ध्यानाकर्षण गराउँदा समेत सरकारबाट कुनै रेस्पोन्स नआएकोले अध्यादेशबाट ल्याउने भन्ने सूचना आएको छ । यसप्रति प्रदेश प्रमुखले आफ्नो जिम्मेवारी पूरा गर्नुहुन्छ भन्ने आशा छ ।”
बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखले सरकारसमक्ष आग्रह गर्न विपक्षी दलले सुझाव पनि दिएका छन् । जसपा संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा त्यो नदेखिएको बताए । विपक्षी दलको प्रतिनिधिमण्डलमा कांग्रेस सचेतक सूयर्माराज राई र माओवादीका सांसद कुशल लिम्बू पनि सहभागी थिए ।