काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछिको पहिलो दिन सेयर बजारमा कीर्तिमान नै कीर्तिमान बनेका छन्। साताको पहिलो दिन आइतबार कारोबार रकम लगायतका सूचकमा नयाँ कीर्तिमान बनेको हो। यो दिन नेप्से परिसूचक १२.५४ अंकले बढेर २८२७.९३ को विन्दुमा पुगेको छ। यो नेप्सेले चुमेको हालसम्मकै उच्च विन्दु हो। यसअघि गत जेठ ११ गते नेप्से हालसम्म सर्वाधिक २८२३.०७ को विन्दुमा पुगेको थियो। आज बजारमा हालसम्मकै सर्वाधिक कारोबारको रेकर्ड पनि बनेको छ। यो दिन १७ अर्ब २ करोड ८४ लाख बढीको कारोबार भयो।
यसअघि गत जेठ १३ गते १४ अर्ब ७६ करोड ८८ लाख बढीको सेयर कारोबार भएको थियो। त्यसलाई आजको कारोबारले उछिनेर नयाँ कीर्तिमान बनाएको छ। बजारका जानकारहरुले दैनिक सेयर कारोबार २० अर्ब पुग्छ भनिरहेको बेला दैनिक रुपमा बढिरहेको कारोबारको आकारले त्यो दिन धेरै टाढा छैन भन्ने कुरा बुझ्न सकिन्छ।
नेप्सेमा आज हालसम्मकै सबैभन्दा धेरै कित्ताको कारोबारको रेकर्ड पनि बनेको छ। आज ४ करोड २६ लाख ३६ हजार बढी कित्ता सेयर कारोबार भयो। यसअघि गत जेठ १३ गते ४ करोड १८ लाख १३ हजार बढी कित्ता सेयरको कारोबार भएको थियो। त्यसलाई तोडेर आजको बजारले कुल कारोबार कित्तामा समेत नयाँ कीर्तिमान बनाएको हो।
यो दिन कारोबार संख्यामा समेत नयाँ कीर्तिमान बनेको छ। आज १ लाख ७३ हजार ५३७ वटा कारोबारको नयाँ कीर्तिमान पनि बनेको छ। गत जेठ १३ गते कायम भएको १ लाख ४७ हजार ४९३ वटा कारोबारको कीर्तिमान आज तोडिएको छ। अर्थमन्त्री विष्णु पौडेलले शनिबार ल्याएको आगामी आर्थिक वर्षको बजेटले अल्पकालिन कारोबारको पुँजीगत लाभकरको दरमा ५० प्रतिशतले ले वृद्धि गरेको भएपनि सेयर बजारमा यसको असर देखिएन। कुल २ सय १९ कम्पनीको कारोबार भएकोमा ९९ कम्पनीको सेयर मूल्य बढ्दा ८० कम्पनीको भने घढेको छ। बाँकी तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
पछिल्लो केही समयदेखि सेयर मूल्यमा उच्च मूल्यवृद्धि हुने कम्पनीहरुको सूचीमा अधिकांश जलविद्युत क्षेत्रका भएपनि आइतबार भने यसमा मिश्रित प्रवृत्ति देखियो। यसअघिको रेकर्ड कारोबार भएको बिहीबार सर्वाधिक मूल्य बढ्ने ३० कम्पनीमध्ये २७ वटा जलविद्युतका थिए।
आइतबार ज्योति विकास बैंक, आँखुखोला जलविद्युत, घलेम्दी हाइड्रो, गुडविल फाइनान्स, लुम्बिनी विकास बैंक, साइन रेसुङ्गा, सोल्टी होटल, ओरियन्टल होटल, खानीखोला हाइड्रो, जोशी हाइड्रोको सेयर मूल्य बढेर सर्किट लागेको छ। यस्तै, दिव्येश्वरी हाइड्रो, समृद्धि फाइनान्स, युनियन हाइड्रो, सांग्रिला विकास बैंक र सिन्धु विकास बैंकको सेयर मूल्य पनि बढेर सर्किट लागेको छ। आइतबार वरुण हाइड्रो, हिमालयन ऊर्जा विकास, मिथिला लघुवित्त, माउन्टेन हाइड्रो, रैराङ हाइड्रोलगायतका कम्पनीको सेयर मूल्य भने घटेको छ।
आइतबार सबैभन्दा बढी नेशनल हाइड्रोको ४७ करोड, अरुण काबेली पावरको ४६ करोड ९२ लाख, युनाइटेड मोदी हाइड्रोपावरको ४१ करोड, बुटवल पावर कम्पनीको ४१ करोड र अपि पावरको ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
बैंकिङ प्रणालीमा तरलता थुप्रिदै जाँदा, लगातारको निषेधाज्ञाका कारण अन्य क्षेत्रको लगानी समेत बजारमा आउँदा र बैंक ब्याजदर समेत घटिरहेका कारण यसले बजारमा दैनिकजसो नयाँ–नयाँ कीर्तिमान बनाउन सहयोग पुगेको सेयर बजारका जानकारहरु बताउछन्।