Aamsanchar

एभोकाडोका यस्ता फाइदा

Author Image
बिहिवार, जेठ २०, २०७८

सीएनएन –पछिल्ला केही वर्ष एभोकाडो फलको लोकप्रियता बढेको पाइन्छ । मानिसले यसलाई ब्लेन्ड गरेर, चाना पारेर, टोस्टमा दलेर विभिन्न तरिकाले खान मन पराउँछन् । यो हरियो फल लोकप्रिय बन्दै जानुका पछाडि कारण छ – यसका अनगिन्ती स्वस्थकर फाइदा । 

स्वस्थ जीवनका लागि आवश्यक पर्याप्त पोषण तत्वयुक्त डायटमा एभोकाडोलाई समावेश गर्नु वास्तवमै अधिक लाभदायक रहेको सिएनएनकी न्युट्रिसनविद् लिजा ड्रेयेर बताउँछिन् ।
 
१. एभोकाडोमा ओमेगा–३ तत्व उच्च मात्रामा पाइन्छ  
एभोकाडोमा ओमेगा–३ फ्याटी एसिड प्रशस्त मात्रामा पाइन्छ जसले ‘एलडिएल कोलेस्ट्रोल’ पनि भनिने ‘लो डेन्सिटी लिपोप्रोटिन कोलेस्ट्रोल’ कम गराउन मद्दत गर्दछ । मान्छेको स्वास्थ्यका लागि यसको विपरित, ‘एचडीएल’ कोलेस्ट्रोल चाहिँ राम्रो हुने ड्रेयेर बताउँछिन् । 

तरपनि हाम्रो शरीरमा प्रायः एलडीएल कोलेस्ट्रोल नै बढी हुने गरेको पाइएको छ । यसले स्ट्रोकको खतरा बढाउँछ भने मुटु सम्बन्धी रोग लाग्ने जोखिम समेत वृद्धि गर्छ । 

२. एभोकाडो ‘पोटासियम’ को उत्तम श्रोत हो

१०० ग्राम एभोकाडोमा ४८५ मिलिग्राम पोटासियम हुन्छ जसको केरासँग तुलना गर्ने हो भने सय ग्राम केरामा जम्म ३५८ मिलिग्राम पोटासियम हुन्छ । 

पोटासियम तत्वले हाम्रो स्नायु प्रणालीको काम नियमित राख्न मद्दत पुर्याउँछ र पोषण तत्वहरु हाम्रो सेलसम्म पुर्याउँदछ । त्यस्तै उच्च रक्तचाप नियन्त्रणमा पनि पोटासियमको धेरै उपयोगीता भएको ‘अमेरिकी हार्ट असोसिएसन’ले बताएको छ । सोडियमको मात्रा उच्च हुनुले नै रक्तचाप बढाउँछ र पोटासियमले त्यस किसिमको अतिरिक्त सोडियमलाई पिशाब मार्फत हाम्रो शरीरबाट बाहिर निकाल्न मद्दत गर्दछ । जसपछि रक्तचाप नियन्त्रणमा आउने गर्दछ । 

३. एभोकाडोमा प्रशस्तै मोनोस्याचुरेटेड फ्याट्स पाइन्छ 
‘मोनोस्याचुरेटेड फ्याट’ भनेको त्यस्तो फ्याट हो जसले राम्रो कोलेस्ट्रोल (एचडीएल) लाई कुनै प्रभाव नपारिकन हानिकारक एलडीएल कोलेस्ट्रोललाई कम गर्नमा मद्दत पुर्याउँछ । 

एलडीएल कोलेस्ट्रोलको मात्रा धेरै हुनुले ‘आर्टेरिज’ मा रगतको बहावलाई अवरोध गराउन सक्छ र रगत जम्नेलगायत अन्य जटिल स्वास्थ्य समस्या उत्पन्न गराउँदछ । आर्टेरिजले अक्सिजनयुक्त रगतलाई मुटुबाट शरीरको अन्य भागसम्म पुर्याउने काम गर्छ ।  

४. एभोकाडोमा फाइबर पनि धेरै हुन्छ 
एभोकाडोमा प्रति १०० ग्राममा सात ग्राम फाइबर हुने गर्दछ । फाइबर हाम्रो शरीरका लागि अति आवश्यक तत्व हो । र, कम फाइबार भन्दा, धेरै फाइबरयुक्त खाना सेवन गर्नुले हामीलाई लामो समयसम्म भोक लाग्दैन । त्यसैले तौल नियन्त्रणमा केन्द्रित मानिसहरुका लागि एभोकाडो धेरै राम्रो विकल्प हुन सक्छ ।
  
५. फोलेट तत्वको धनी हुन्छ एभोकाडो 
यो फलमा फोलेट प्रशस्तै पाइन्छ । युएसडीएका अनुसार प्रत्येक १०० ग्राम एभोकाडोमा ८१ माइक्रोग्रामसम्म फोलेट तत्व हुन्छ । फोलेट भनेको बी भिटामिन हो जुन हाम्रो दिमागी विकास र मस्तिष्क सञ्चालनका लागि अधिक महत्वपूर्ण हुन्छ भने स्वस्थ गर्भधारणमा पनि मद्दत पुर्याउने ड्रेयेर बताउँछिन् ।
 
‘नेस्नल इन्सटिच्युट अफ हेल्थ अफिस फर डाइटरी सप्लिमेन्ट्स’ ले गर्भधारण गर्ने उमेरका सबै महिलाहरुले प्रति दिन ४०० माइक्रोग्राम फोलेट सेवन गर्न सुझाव दिएको छ । त्यस्तै गर्भवती महिलाहरुले चाहिँ यसको सेवन अझ बढाएर प्रति दिन ६०० माइक्रोग्रामसम्म खानुपर्ने बताइएको छ ।
 
फोलेटले बच्चालाई सामान्य रुपमा बिना कुनै समस्या जन्मिन मद्दत गर्दछ । विशेषगरी गर्भवती भएको सुरुवाती हप्ताहरुमा नवजात शिशुको दिमाग या स्पाइनलाई असर पार्ने समस्या हुनबाट यसले जोगाउँछ ।  यसरी निष्कर्षमा भन्नुपर्दा एभोकाडो पोषण तत्वहरुको अति उत्तम श्रोत हो र दैनिक खानामा यसलाई केही न केही गरि समावेश गराउनुले स्वस्थ जीवनमा योगदान पुर्याउनेछ । 
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 360

प्रतिक्रिया (०)

सम्बन्धित खबर
हात्तीको परिचय 
बुधवार, वैशाख १२, २०८१
दैनिक आलस खाँदाका फाइदा
सोमवार, वैशाख १०, २०८१